पहिलो चरणमा ३९ प्रतिशतभन्दा बढी उम्मेदवार महिला

  • 8 मे 2017
निर्वाचन आयोग
Image caption दोस्रो चरणको चुनाव जेष्ठ ३१ गतेका लागि तोकिएको छ।

आगामी बैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानिय तहको चुनावका झण्डै ५० हजार उम्मेदवार मध्ये ३९ प्रतिशत भन्दा बढी महिला रहेको निर्वाचन आयोगले जनाएको छ।

तीन वटा प्रदेशमा रहेका ३४ वटा जिल्लामा हुन लागेको चुनावका लागि ४९ हजार ३३७ जनाले उम्मेदवारी दिएको अधिकारीहरुले बताएका छन्।

२ सय ८३ वटा स्थानीय तहमा कुल उम्मेदवारको ६० दशमलब ८२ प्रतिशत पुरुष रहेको र ३९ दशमलब १८ महिला रहेको बताइएको छ।

पहिलो चरणमा १३ हजार ५५६ पदका लागि करिव ५० लाख मतदाताले भोट खसाल्न पाउने निर्वाचन आयोगको भनाइ छ।

पद

Image caption पहिलो चरणमा ३४ जिल्लामा स्थानीय तहको चुनाव हुँदैछ।

नगरप्रमुख तथा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनेमा १७ सय २३ जना पुरुष र १५७ जना महिला रहेका छन्।

नगर उपप्रमुखमा भने महिला उम्मेदवारहरुको संख्या ८१ प्रतिशतभन्दा बढी रहेको छ।

तत्काल मतगणना उपयुक्त: आयोग

स्थानीय चुनावको उल्लास

'चुनाव दुई चरणमा र संशोधन परिमार्जन गर्ने'

निर्वाचन आयोगका अनुसार ११ सय २७ जना महिलाले उक्त पदका लागि उम्मेदवारी दिएका छन् भने २५७ पुरुष उक्त पदका लागि चुनाव लडिरहेका छन्।

वडा अध्यक्ष पदमा चाहिँ महिलाहरुको उम्मेदवारी ४ प्रतिशत भन्दा थौरै बढी मात्र देखिएको छ।

सो पदमा १० हजार २ सय ९६ जना पुरुष उम्मेदवारसँग ४ सय ४८ जना महिला भिड्नेछन्।

प्रतिनिधित्व

Image caption बैशाख १९ गते दलीय तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका थिए।

महिला वडा सदस्य पदमा ९ हजारभन्दा बढी उम्मेदवार चुनावी दौडमा छन्।

त्यसबाहेक दलित महिला वडा सदस्यमा ७ हजार ५ सय २६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन्।

स्थानीय तह निर्वाचन ऐनले उम्मेदवारी मनोनयन गराउँदा दलहरुले नगरप्रमुख/अध्यक्ष र उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था गरेको छ।

वडा सदस्य पदका लागि कम्तीमा ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनमा व्यवस्था छ।

गएको वैशाख १९ गते दलीय तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका थिए।

कतिपय स्थानमा मुख्य दलहरुले तालमेल गरेपछि कैयौं उम्मेदवारहरुले वैशाख २२ गते आफ्नो मनोनयन फिर्ता लिएका थिए।