उपप्रधानमन्त्री पदसहित गच्छदार सरकारमा

  • 8 मे 2017
विजय कुमार गच्छदार
Image caption तीन मन्त्रालयसहित विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सोमबार सरकारमा सामेल भएको छ

राप्रपा सरकारबाट बाहिरिएसँगै रिक्त रहेका ३ मन्त्रालयसहित विजयकुमार गच्छदारको नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सोमबार सरकारमा सहभागी भएको छ।

गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि उक्त जिम्मेवारी राप्रपा अध्यक्ष कमल थापाले सम्हालेका थिए।

यस्तै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको पर्यटन मन्त्रालयको जिम्मेवारी लोकतान्त्रिक फोरमका जितेन्द्र देव र भूमिसुधार मन्त्रालयको जिेम्मेवारी गोपाल दहितलाई दिइएको छ।

नयाँ अनुहार

उनीहरु तीनैजनाले सोमबार सपथ लिएका छन्।

उक्त पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाए पनि सरकारमा जाने राज्यमन्त्रीको टुंगो लगाउन बाँकी रहेको लोकतान्त्रिक फोरमका संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चोधरीले दिएका छन्।

मन्त्रिपरिषद्‍मा सहभागी हुने देव र दहित नयाँ अनुहार हुन्।

पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएपनि जितेन्द्र देवले सरकारमा जाने अवसर पाएका थिएनन्।

पटक-पटक

गोपला दहित राजाको शासनकालका बेला सहायकमन्त्री बनाइएका थिए।

उनी हालै चारवटा पार्टीबीच एकता भएपछि बनेको नेपाल लोकतान्त्रिक फोरममा सहभागी भएका थिए।

गच्छदार पटक-पटक सरकारमा सहभागी भैसकेका पुराना अनुहार हुन्।

स्थानीय विकास मन्त्रालय भने उनका लागि नयाँ हो।

अझै बाँकी

विगतमा भौतिक पूर्वाधार मन्त्रालय उनको बढी रोजाइमा पर्ने गरेको थियो।

नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी भएपछि पनि आपूर्ति मन्त्रालय भने अझै मन्त्रीविहीन नै बनेको छ।

सरकारलाई समर्थन गर्दै आएका गच्छदारलाई यस अघी पनि सरकारमा ल्याउन भएका प्रयास मन्त्रालय नमिल्दा सफल हुन सकेको थिएन।

यस अघी नेपाल लोकतान्त्रिक फोरमले प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाटै समर्थन गर्दै आएको थियो।