'वान बेल्ट वान रोडमा नेपाल सामेल हुने'

  • 8 मे 2017
बैठक तस्वीर कपीराइट Prachanda's website

लामो समयदेखिको अन्योलपछि नेपालले चीनद्वारा अघि सारिएको 'वान वेल्ट वान रोड' अर्थात एक क्षेत्र एक सडक परियोजनामा सामेल हुने औपचारिक निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले त्यससम्बन्धी समझदारीपत्रमा चीनसँग हस्ताक्षर गर्ने ‍निर्णय गरेको सरकारका प्रवक्ताले बताए।

विज्ञहरुले सो परियोजनाबाट अधिकतम फाइदा लिनका निम्ति नेपालले आफ्ना प्राथमिकताहरुको पहिचान गरी त्यसअनुरुप चीनसमक्ष पहल गर्नुपर्ने सुझाव दिएका छन्।

'वान वेल्ट वान रोड (ओबीओआर)' परियोजनामा कतिपय मुलुकहरुले सहमति जनाइसके पनि नेपाल अझैसम्म त्यसमा सामेल हुने वा नहुने अन्योल कायम थियो।

सहमति

अब चाहिँ सरकारले सम्भवतः यसैसाता चीनियाँ पक्षसँग त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।

नेपाली मुद्रा वा डलरमै लगानी गर्ने नेपाली पक्षको शर्त लगायतका विषयमा चीनले सहमति जनाएपछि ओबीओआर परियोजनामा सामेल हुने निर्णय नेपालले गरेको बताइएको छ।

त्यसबारे प्रष्ट रुपमा उल्लेख नगरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, "कुन चाहिँ ब्यांकिङ संस्थामार्फत कारोबार गर्ने र कुन मुद्रामा गर्ने भन्नेबारे अरु पनि सम्झौताहरु गर्ने गरेर त्यसमा अहिले कुनै समस्या हुने वा विवाद हुने कुरा राखिएको छैन।"

'सिल्क रोड'

प्राचीनकालमा चीनबाट एसिया हुँदै युरोप तथा अफ्रिकासम्म पुग्ने स्थल व्यापारमार्गलाई रेशम मार्ग अर्थात 'सिल्क रोड' भन्ने गरिन्थ्यो।

सोही मार्गको आधुनिक अवतारको रुपमा चीनले अघि सारेको ओबीओआर परियोजनामा नेपाललाई पनि समावेश गर्न चीनले पछिल्लो समय प्रयास तीव्र पारेको बताइन्छ।

हालै चीनको भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डले त्यसमा नेपाल सामेल हुने प्रतिबद्धता जनाएका थिए।

ओबीओआरबारे बेइजिङमा वैशाख ३१ र जेठ १ गते हुने सम्मेलनमा सहभागी हुन उपउप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गर्दैछ।

ओबीओआर परियोजनामा सामेल हुने निर्णयसँगै नेपालले आफ्ना प्राथमिकताहरुको टुंगो लगाउनुपर्ने पूर्व अर्थ सचिव रामेश्वर खनालको सुझाव छ।

उनले भने, "नेपालको भूभाग भएर जाने बाटोको वरिपरि उद्योगहरु खडा हुनुपर्यो। लगानी आउनुपर्यो। चिनियाँहरुले लगानी गर्ने प्रतिबद्धता आउनुपर्यो।"

'वान वेल्ट वान रोड' परियोजना अन्तर्गत एसिया, युरोप र अफ्रिकालाई सडक तथा रेल लगायतका पूर्वाधारले जोड्ने चीनको लक्ष्य छ।

अवसर

त्यसका लागि उसले पाकिस्तानसहित केही मुलुकमा बन्दरगाह र विमानस्थल जस्ता संरचनाको निर्माणमा लगानी समेत गरिरहेको छ।

ओबीओआरबारे भारतमा केही हदसम्म संशय देखिएको पृष्ठभूमिमा त्यसबारे नेपाल सजग भएर अघि बढ्नुपर्ने दक्षिण एसियाली नीतिबारेका जानकार प्राध्यापक श्रीधर खत्रीले बताए।

उनले भने, "नेपाल सामेल हुने भएकोमा भारतको के सोचाइ छ त्यो पनि हामीले बुझ्नुपर्छ। भारतलाई नचिढ्याउने प्रयास हामीले गर्नुपर्छ।"

चीनले पटक-पटक ताकेता गरेपनि नेपालले नै हालसम्म ओबीओरबारे गोलमटोल कुरा गर्दै आएको बताइन्छ।

तर ढिलै भएपनि 'वान वेल्ट वान रोड' परियोजनामा सामेल हुने सरकारको निर्णयले थुप्रै अवसरका ढोकाहरु खुल्ने जानकारहरु बताउँछन्।