भैरवबहादुर थापासंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लोकनृत्य मञ्चनका 'पिता'

  • 23 मे 2017

८५ वर्षीय नृत्य निर्देशक भैरवबहादुर थापाले लोकनृत्य मञ्चन गराउने परम्पराको शुरुवात गरेको मानिन्छ।

थापाले सैनिक जीवन हुँदै नृत्य र नृत्य निर्देशनमा पाइला चालेका थिए।

त्यो समयमा नृत्य प्रदर्शन गर्नु त्यति सजिलो नभएको उनी बताउँछन्।

"केटाले नाच्यो भने उसको जात गयो भन्थे। टोलका मान्छेले पानी पनि खाँदैन थिए। भनेपछि केटीले नाच्ने त कता हो कता हो!"

नाचको संकलन

त्यस्तो समयमा उनले देशका जिल्ला,जिल्ला पुगेर लोकनाचहरु संकलन गर्ने गरेको बताउँछन्।

"सब पैदल हिंड्नुपर्थ्यो। करिब करिब एउटा जिल्ला घुम्न एक वर्ष लाग्थ्यो," उनी भन्छन्।

त्यतिबेला उनी आफू पनि नाच देखाउँथे र गाउँलेहरुलाई पनि नाच देखाउन भन्थे।

आधा पैसा आफूलाई खानलाई राख्थे र आधा पैसा विद्यालयलाई दिन्थे।

नर्तकहरुको ठूलो टोली लिएर हिंड्दा उनलाई समायोजन गर्न निकै गाह्रो पर्ने रहेछ।

लोकनृत्यको विविधता

"मगन्तेहरु कहाँबाट आयो गाउँ भाँड्न आयो पो भन्थ्यो त!"

गाउँलेहरुलाई नाच देखाउने अनुरोध गर्दै जाँदा त्यस्तो आरोप लाग्ने गरेको र बास बस्न नपाएको उनी सम्झन्छन्।

त्यसरी देशभर हिंड्दै जाँदा उनले थुप्रै किसिमका लोकनृत्यहरु देखे र सिके।

"झ्याउरे लोक नाच पनि धेरै किसिमको हुन्छ," उनी भन्छन्।

"लिम्बुले नाच्दा अर्कै हुन्थ्यो। बाहुनले नाच्दा अर्कै। गुरुङले नाच्दा अर्कै। जातै अनुसारका फरक फरक भावभंगिमा हुन्थे।"

मञ्चन शैली

तिनै भाव भंगिमा बटुलेर, भजन चुड्का सबै मिलाएर उनले आफ्नै शैली तयार गरेको बताउँछन्।

तर लोक नाचलाई जस्ताको तस्तै मञ्चन भने गराउँदैनन्।

"लोकनृत्यको मञ्चन गराउन बडो गाह्रो हुन्छ," उनी भन्छन्।

"नाच भनेको कमसेकम एक, एक मिनेटको भित्रमा चार, पाँच वटा मुद्राहरु फेरिसक्नुपर्ने हुन्छ। हातका मुद्रा, आँखा र मुखका मुद्रा, शरीरको दायाँ बायाँ फर्किने मुद्रा।"

तर सोरठी, मारुनी तथा धिमाल र राजवंशी समुदायका नाचहरु त्यस्तो नहुने उनी बताउँछन्।

एकसुरमा चलिराख्ने त्यस्ता नृत्यले दर्शकलाई लामो समयसम्म बाँधिराख्न नसक्ने भएकाले त्यसलाई मनोरञ्जनात्मक बनाउनका लगि कलाको प्रयोग गर्ने गरेको उनी बताउँछन्।

सुन्दर लोकनृत्य

यात्राको क्रममा देखेको सुन्दर लोकनृत्यका बारेमा सोध्दा भने उनी लोकनृत्यको तुलना र प्रतिस्पर्धा गर्नु नहुने बताउँछन्।

"कुनै पनि लोकनाच यो भन्दा त्यो राम्रो त्यो भन्दा त्यो राम्रो भन्न मिल्दैन," उनी भन्छन्।

"घाटु नाच आँखा खोल्नलाई नै एक डेढ मिनेट लाग्छ। उभिनलाई नै पाँच मिनेट लाग्छ। तर त्यसको पनि आफ्नै स्वाद छ। त्यस्तो मिठास पनि कहाँबाट पाउनु?"

उफ्रेर नाच्यो भने नाचलाई राम्रो मानिने प्रवृत्तिका उनी विरोधी छन्।

तर चण्डी नाच, राई लिम्बुको धान नाच जस्ता उफ्रेर नाचिने त्यस्ता नाचमा पनि छुट्टै सौन्दर्य र मिठास उनी पाउँछन्।

भैरव नृत्य दल

थापाले सिकेका नृत्यहरु मञ्चमा मात्रै होइन, 'मनको बाँध' लगायतका केही प्रारम्भिक चलचित्रमा समेत प्रयोग गरेका थिए।

सांस्कृतिक संस्थानमा नृत्य निर्देशक रहेका थापाले त्यसपछि 'भैरव नृत्य दल' नामक समूह स्थापना गरेर देश विदेशमा नेपाली लोक नृत्यको मञ्चन गराएका थिए।

नाच्दा खेरी केटाको जात जाने समयमा महिलाहरु सार्वजनिक रुपमा नाच्ने शुरुवात गरेको पनि उनी सम्झन्छन्।

त्यो शुरुवातपनि उनी र उनकै नामका संगीतकार वस्ताज भैरवबहादुर थापाबाट भएको रहेछ।

प्रथम चेली

"हाम्रो एउटै नाम भएकाले हामी एक अर्कालाई मीतज्यू भन्थ्यौं," उनी बताउँछन्।

"भैरव नृत्य दलमा केटीको आवश्यकता पर्यो के गर्ने होला भनेर वहाँले भन्नुभयो, मीतज्यूले धन्दा मान्नु पर्दैन। मेरै छोरीहरु छन्।"

ती छोरी थिइन् भुवन थापा, जो पछि भुवन चन्दका नाममा नेपाली चलचित्रकी प्रथम नायिकाका रुपमा प्रसिद्ध भइन्।

आठ, नौ वर्षको उमेरकी भुवनलाई प्रथम चेलीको रुपमा नृत्य सिकाउँदा उनले कहिले काँधमा बोकेर लगेको पनि सम्झन्छन्।

पछि उनले भुवनलाई मात्रै होइन, विमला श्रेष्ठ लगायतका वरिष्ठ नृत्यांगना र रानी ऐश्वर्य र उनका बहिनीहरु कोमल र प्रेक्षालाई पनि नृत्य सिकाए।

मीठा सम्झनाहरु

भैरव नृत्य दल अन्तर्गत देश विदेशमा थुप्रै नाच मञ्चन गर्दा आसाममा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सात दिनसम्म नाच सञ्चालन गर्नु भनेको र चीनमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले उनको भ्रमणको समय बढाएर तीन हप्ता थप राखेको मीठो सम्झना उनीसँग छ।

राजा महेन्द्रको जन्मदिन पारेर देखाएको 'नेपालको फूलबारी' नामक नाच हेरेर राजाले खुशी भएर पिकनिक खानु भनेर एक हजार रुपैयाँ दिएको पनि उनी सम्झन्छन्।

नाचलाई उनी संस्कृति र सभ्यताको विकसित रुप मान्दछन्।

"मारुनी, टप्पा, ख्याली, कौडा, यो स्थितिमा आउनु भनेको संस्कृतिको विकास भएको तस्वीर देखाउँछ। राष्ट्रको चिनारी गराउँछ। भाषणले त देशको चिनारी गराउँदैन," उनी आफ्नो विधाको महत्व यसरी दर्शाउँछन्।

नृत्य व्याकरण

तर नाच र नृत्यकर्मीलाई जोगाउनका लागि नीति नबनेकोमा भने उनी दुःखी छन् र कलाकारहरुको आर्थिक अवस्थाप्रति सरकार उदासीन बनेको गुनासो गर्दछन्।

नाच्न छोडेको धेरै भइसकेतापनि उनले नृत्य विधालाई भने छोडेका छैनन् र हाल पनि प्रतिकूल स्वास्थ्य हुँदाहुँदै नृत्यको व्याकरण सम्बन्धी पुस्तक लेख्न व्यस्त भएको बताउँछन्।

"यो पुस्तक नृत्य विधामा मेरो दीर्घकालीन योगदान हुनेछ," उनी आशावादी छन्।