मून जाए-इनद्वारा विजयी भएको दावी

  • 9 मे 2017
मून जाए-इन तस्वीर कपीराइट Reuters
Image caption मूनले देशमा न्याय र सुशासन कायम गर्ने वाचा गरेका छन्।

मतगणना जारी रहँदा मानव अधिकारवादी वकिल मून जाए-इनले आफू राष्ट्रपतीय चुनावमा विजयी भएको दावी गरेका छन्।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै अघि रहेको मतगणनाले देखाएको छ।

सोलमा आफ्ना समर्थकमाझ बोल्दै उनले देशमा न्याय र सुशासन कायम गर्ने वाचा गरेका विवरण प्राप्त भएका छन्।

त्यसअघि मतदाताले राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मून जाए-इनलाई छानेको चुनावपछिको मत सर्वेक्षणले देखाएका थिए।

ती सर्वेक्षणका अनुसार मूनले ४१ दशमलव ४ प्रतिशत र उनका नजिकका प्रतिन्द्वन्द्वी होङ जून-प्योले २३ दशमलव ३ प्रतिशत मत पाउने अनुमान गरिएको थियो।

सम्भावना

मूनले बुधबार शपथग्रहण गर्ने सम्भावना रहेको छ।

भूतपुर्व राष्ट्रपति पार्क गुन-हेलाई भ्रष्टाचारको आरोपमा दोषी पाइएपछि समयअगावै सो राष्ट्रपतीय निर्वाचन आयोजना गरिएको हो।

निर्वाचनमा १२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

सोलबाट बीबीसीका स्टेफन इभान्स भन्छन्, "मूनले जितेमा दक्षिण कोरियाले उत्तर कोरियाका बारेमा लिएको नीति परिवर्तन गर्नसक्छ।

तर देशका जनताका लागि भ्रष्टाचार र अर्थतन्त्रका मुद्दा अझ ठूलो चिन्ताको विषय बनेका छन्।"

प्योङयाङसंगको सम्बन्ध

मूनले उत्तर कोरियासंग सम्बन्ध बढाउन चाहेका छन् जुन दक्षिण कोरियाको हालको नीति विपरीत हो।

दक्षिण कोरियाली क्षेत्रबाट अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परिचालन भएकोप्रति मून असन्तुष्ट छन्।

विगत १० वर्षदेखि सोल र वाशिंग्टनले उत्तर कोरियामाथि प्रतिबन्ध बढाउँदै लगेका छन् र उसलाई एक्ल्याइरहेका छन्।

तर मून त्यस्तो चाहँदैनन्।

मूनको विगत

मून उत्तर कोरियाली शरणार्थीका सन्तान हुन्।

सन् १९७० को दशकमा भूतपुर्व राष्ट्रपति पार्क गुन हेका पिता, तत्कालीन सैनिक शासक पार्क चुङ-हीविरुद्ध प्रदर्शन आयोजना गरेकोमा उनलाई जेल सजाय दिइएको थियो।

पछि उनले दक्षिण कोरियाको विशेष फौजमा काम गरे र मानव अधिकार अधिवक्ता बने।

मध्य वामपन्थी डेमोक्रेटिक पार्टीका मून सन् २०१२ को निर्वाचनमा पार्कसंग पराजित भएका थिए।

उनले आफूलाई पार्कको भ्रष्टाचार प्रकरण प्रयुक्त समयबाट देशलाई अघि बढाउने मानिसका रुपमा दर्शाएका छन्।