राष्ट्रपति ट्रम्पद्वारा एफबीआइ प्रमुख बर्खास्त

  • 10 मे 2017
जेम्स कमी तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच निकाय एफबीआइका निर्देशकलाई हिलरी क्लिन्टनको इमेल छानविनको मुद्दामा गल्ती गरेको भन्दै पदबाट हटाएका छन्।

ह्वाइट हाउसले जेम्स कोमीलाई 'पदबाट हटाइएको' भनी घोषणा गरेको उक्त निर्णय वाशिंङ्टनमा अप्रत्याशित थियो।

गत साता अमेरिकी संसदसमक्ष कोमीले क्लिन्टन इमेल प्रकरणबारे असत्य सूचना दिएको भन्ने बाहिरिएपछि ह्वाइट हाउसको पछिल्लो निर्णय आएको छ।

एफबीआइले ट्रम्पको चुनावी अभियान र रुसबीचको साँठगाँठबारेका आरोपहरुमाथि अनुसन्धान गरिरहेको थियो।

दाबी

ह्वाइट हाउसले महान्यायाधिवक्ता जेफ सेसन्स र उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनको सिफारिसमा पछिल्लो कदम चालेको जनाएको छ।

एउटा पत्रमा राष्ट्रपति ट्रम्पले कोमीले एफबीआइलाई प्रभावकारी ढंगले नेतृत्व गर्न नसकेको र कानून कार्यान्वयन गर्नुपर्ने उक्त निकायको महत्वपूर्ण कार्यभारप्रति सर्वसाधारणको विश्वास पुनर्स्थापित गराउन नयाँ प्रमुख खोज्नु आवश्यक रहेको जनाएका छन्।

तर डेमोक्रयाटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच रहेको भनिएको सम्बन्धका आरोपहरुबारे कोमीले छानविन गरिरहेकाले उनलाई हटाइएको बताएका छन्।

फ्लिनविरुद्ध ओबामाले सावधान गराएको खुलासा

आशंका

डेमोक्र्याट सिनेटर चक सुमरले भने, "यदि उपमहान्यायाधिवक्ता रोजनस्टाइनले छानविनका लागि एकजना स्वतन्त्र विशेष अभियोजनकर्ता नियुक्त गरेनन् भने प्रत्येक अमेरिकीले निर्देशक कोमीको बर्खास्तीलाई एउटा ढाकछोपको भागका रुपमा आशंका गर्नेछन्"।

ह्वाइट हाउसले कोमीको उत्तराधिकारीको खोजी तत्काल थालिने जनाएको छ।

५६ वर्षीय कमी सो पदमा चार वर्ष अगाडि नियुक्त भएका थिए।

उनको अझै छ वर्षको कार्यकाल बाँकी थियो।