सबै मतदान केन्द्रमा निर्वाचन टोली पुग्दै

  • 10 मे 2017
निर्वाचन आयोग

सबै मतदान केन्द्रमा बुधबार निर्वाचन टोली पुग्ने निर्वाचन आयोगले बताएको छ।

मतदान अधिकृत सहितको टोलीले बिहिबारदेखी मतदाता परिचयपत्र वितरण शुरु गर्ने छन्।

साढे ६ हजार जति मतदान केन्द्रहरुमा मतदान सम्पन्न गर्न सुरक्षाकर्मी बाहेक करिब ४६ हजार कर्मचारी र स्वयमसेवक खटाइएको अधिकारीहरुले बताएका छन्।

कार्यक्रम

बैशाख १९ गते उम्मेदवारी दर्ता भए यता २८३ वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावी कार्यक्रम गर्दै आएकोमा बुधबारदेखि निर्वाचन संयन्त्र सबै मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ।

मतदानस्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरण जस्ता काम गर्ने गरि मतदान अधिकृत नेतृत्वको टोली आयोगले पठाएको हो।

आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले भने, "धेरै जिल्लाबाट केही दिन अघि नै मतदानकेन्द्रमा बुधबार साँझसम्म पुग्ने गरि कर्मचारी पठाइसकिएको छ। नजिकको मतदान केन्द्र भएका स्थलमा बुधबारै कर्मचारी पठाइने छन् र बिहिबारदेखि मतदाता परिचयपत्र बाँड्ने काम शुरु गर्ने छन्।"

मतदान केन्द्र पुगेर उनीहरुले मतदान शान्तिपूर्वक र मर्यादित रुपमा गर्न राजनीतिक दल र नागरिक समाजसँग छलफल गर्ने बताइएको छ।

खटनपटन

Image caption निर्वाचन सुरक्षाकर्मी पनि बुधबारै मतदानकेन्द्रहरुमा खटाइने बताइएको छ।

पहिलो चरणको निर्वाचनका लागि ६६४२ वटा मतदान केन्द्र तोकिएको छ।

ती केन्द्रमा मतदान अधिकृत, अन्य कर्मचारी र स्वयमसेवक गरि ४६ हजार भन्दा बढी कर्मचारी खटाइएको प्रवक्ता शर्माले बताए।

उनले भने, "थोरै मतदाता भएका साना मतदान केन्द्रहरुमा ५ जना कर्मचारी र २ जना स्वयमसेवक खटाएका छौं। धेरै मतदाता भएका मतदान केन्द्रमा चाहिं ३ जनासम्म स्वयमसेवक राख्न सकिने हिसाबले कर्मचारी र स्वयमसेवक पठाएका छौं।"

निर्वाचन टोलीसँगै सुरक्षाकर्मी पनि बुधबारै मतदान केन्द्रहरुमा पुग्ने बताइएको छ।

गृहमन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाका लागि ६४ हजार सुरक्षाकर्मी खटाइएका छन्।

जसमा म्यादी, सशस्त्र र नेपाल प्रहरी छन्।

निर्वाचन केन्द्रको बाह्य सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको छ।

पहिलो चरणमा १३ हजार पदका निम्ति करिब ५० हजार उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।