दोलखा घटना: 'छानबिन गर्न विशेष टोली'

  • 10 मे 2017
प्रहरी अधिकृत तस्वीर कपीराइट Nepal police

नेकपा एमालेका एकजना कार्यकर्ताको ज्यान जाने गरी दोलखामा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले छुट्टा-छुट्टै विशेष टोली परिचालन गरेको छ।

प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्ने बताएका छन्।

निर्वाचन आयोगले आयोजना गरेको छलफलमा दोलखा लगायतका जिल्लामा भएका घटनाबारे विपक्षी नेताले प्रश्न उठाएका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, "केही ठाउँमा भएका घटनाबारे जानकारी भयो। सरकारको तर्फबाट मैले सबै घटनालाई गम्भीर रुपमा लिन, अनुसन्धान गर्न र आवश्यक कारवाही गर्न भनेको छु।"

क्रुद्ध

घटनाको अनुसन्धान गर्न प्रहरीले जिल्ला बाहेक अन्य तीन निकायबाट पनि टोली खटाएको छ।

जनकपुर अञ्चलका प्रहरी प्रमुख एसएसपी सुवास चौधरी, केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत र प्रहरी प्रधान कार्यालयको कार्यदलका एसपी सुदीप गिरीको नेतृत्वमा विशेष टोली पठाइएको प्रहरीले जनाएको छ।

माओवादी नेता/कार्यकर्ता प्रत्यक्ष संलग्न भनिएको उक्त घटनाको अनुसन्धानको सिलसिलामा केहीलाई गिरफ्तार गरेको र मुख्य अभियुक्तको खोजी तथा अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन्।

उक्त घटनापछि मुख्य विपक्षी एमाले क्रुद्ध देखिन्छ।

उसले सरकारमाथि सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ।

प्रतिबद्धता

उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले त सरकारसँगै आयोगलाई समेत निशाना बनाए।

छिटपुट हिंसात्मक घटनाका माझ सत्ता र प्रतिपक्षी प्रमुख दलले आसन्न चुनावमा आचारसंहिताको पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

निर्वाचन आयोगले उनीहरुलाई लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको हो।

एकजना निर्वाचन आयुक्त इला शर्माले भनिन्, "आचार संहिता पालना गर्ने जसरी नेताहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभयो त्यो सन्देश उहाँहरुमार्फत कार्यकर्ताहरुसम्म पुगोस् भन्ने हाम्रो आग्रह हो।"

विगतका चुनावमा पनि हिंसात्मक घटना हुने गरेको बताउने जानकारहरु स्वस्थ चुनावी प्रतिस्पर्धाको थिति बसाल्न नसक्नाले हिंसाका घटना दोहोरिने गरेको बताउँछन्।