सत्तापक्ष र विपक्षीको अन्तिम प्रदर्शन

  • 11 मे 2017

पहिलो चरणको स्थानीय तहको चुनाव प्रचार-प्रसारको अन्तिम दिन बिहिबार तीन ठूला दलका प्रमुखले चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्।

सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर विशेष महत्व दिएको भरतपुर महानगरपालिकामा आयोजित सभालाई सत्तापक्षका मुख्य नेताद्वय प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सम्बोधन गरेका थिए।

विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो दलको छुट्टै सभामा सहभागी हुन चितवन पुगेका हुन्।

शक्ति प्रदर्शन ठानिएको चुनावी सभामा दुबै पक्षका नेताले एक अर्काको कटु आलोचना गरे।

सहकार्यको कारण

सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले दुई नयाँ महानगरपालिका पोखरा र भरतपुरको प्रमुख र उपप्रमुखमा चुनावी तालमेल गर्दै एक-अर्काका निम्ति उम्मेद्वारी त्यागेका छन्।

चुनाव प्रचार-प्रसारको अन्तिम दिन कांग्रेस नेतृत्वले सत्ता सहयात्री माओवादीले विशेष महत्व दिएको प्रचण्ड पुत्री मेयरको उम्मेद्वार बनेको भरतपुर महानगरलाई पनि महत्व दिएको देखियो।

सभामा कांग्रेस सभापति देउवाले भने, "यो संयुक्त सरकार धेरै अगाडि जाने हो। तालमेल पनि प्रान्तीय र संघीय चुनावमा समेत हुनेछ। त्यसपछि पनि हामी सँगसँगै जान सक्छौं। संघीय र समावेशी संविधान लागू गर्न पनि कांग्रेस र माओवादीबीचको सहकार्य धेरै दिनसम्म जानुपर्छ।"

सभामा कांग्रेस महामन्त्री शशांक कोइराला समेत उपस्थित थिए।

छोरीको बचाउ

प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेससँगको गठबन्धनको पक्षमा अभिव्यक्ति दिएका थिए।

उम्मेद्वार छोरीलाई 'प्रचण्ड पुत्री' को रुपमा प्रचार गरिएकोमा उनको असन्तुष्टि थियो।

प्रचण्डले भने, "मलाई 'रेणु दाहाल प्रचण्ड पुत्री' भनेर मिडियामा आएको मिठो लागेको छैन। उनी प्रचण्ड पुत्री भएकै कारण अहिले उम्मेद्वार भएको होइन।"

सत्ता पक्षले शक्ति प्रदर्शन गरेको भरतपुरमै एमालेले पनि चुनावी सभा आयोजना गरेको थियो।

टाउकाको मूल्य

उक्त सभामा बोल्दै एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र माओवादीबीचको चुनावी तालमेलको चर्को आलोचना गरेका थिए।

उनले आफ्नो दलसँग लड्न 'कतैबाट कांग्रेस, कतैबाट माओवादी र कतैबाट को' आएको भन्दै चुनावी गठबन्धनलाई परास्त गर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

देउवा र प्रचण्डप्रति व्यङ्ग्य गर्दै ओलीले भने, "म नाम भनिरहन्न्, तपाईहरु आफै थाहा पाउनु हुन्छ, कहिले टाउकाको मूल्य तोक्छन कहिले छोरीलाई टाउकामा बोक्छन्।"

झण्डै दुई दशकपछि हुन लागेको चुनावमा बिहिबार मध्यरातदेखि शुरु हुने मौन अवधिमा दलहरुले प्रचार-प्रसार गर्न नपाउने व्यवस्था छ।