एफबीआईको अनुसन्धान जारी रहने छ: मकेब

  • 11 मे 2017
एन्ड्रु मकेबले सीनेटको गुप्तचर समितिमा तस्वीर कपीराइट Getty Images
Image caption एन्ड्रु मकेबले जेम्स कोमीमाथि एफबीआईको पूर्ण विश्वास रहेको बताएका छन्।

राष्ट्रपति डोनल्ड ट्रंपले एफबीआईका प्रमुख जेम्स कोमीलाई बर्खास्त गरेको भएपनि कार्यवहाक प्रमुख एन्ड्रु मकेबले सीनेटको गुप्तचर समितिमा बोल्दै एफबीआईले थालेका अनुसन्धान निरन्तर अघि बढ्ने बताएका छन्।

उनले सो समितिमा बोल्दै भने एफबीआईका महिला तथा पुरुषलाई संविधानलाई सम्मान गरी आफ्नो काम गर्न कसैले रोक्न सक्दैन।

सीनेटको गुप्तचर समितिको बैठकमा मकेबले ट्रंपको चुनाव प्रचार अभियान र रुसबीचको साँठगाँठबारेको अनुसन्धान अब उनी कसरी अघि बढ्नेछन् भन्ने प्रश्नको सामना गर्नु परेको थियो।

डीमोक्रेटीका पार्टीका सीनेटर मार्क वार्नरले मकेबलाई ह्वाइट हाउसले अनुसन्धानलाई ढाकछोप गर्न लगाएको भए त्यसबारे जानकारी दिन आग्रह गरेका थिए।

तनाव

राष्ट्रपति ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि वासिङटनमा तनाव बढेको बेला सीनेटको गुप्तचर समितिले बैठक डाकेको हो।

एफबीआई प्रमुख कोमीलाई बर्खास्त गरिएपछि वासिङटनमा त्यस विषयले निकै चर्चा पाएको छ।

ट्रंपको चुनावी अभियान र रुसबीचका सम्बन्धका बारेमा कंग्रेसका चार वटा समितिले छुट्टा छुट्टै अनुसन्धान गरिरहेका छन्।

एफबीआई प्रमुख बर्खास्त गरिएपछि डीमोक्रेटीक पार्टीका थुप्रै नेताहरु क्रुद्ध भएका छन्।

आरोप

उनीहरुले राष्ट्रपति ट्रंपले अहिले रुससँगको साँठगाँठको आरोपबारेका अनुसन्धानलाई अबरुद्ध तुल्याउन खोजेको आरोप लगाएका छन्।

कोमीलाई बर्खास्त गरिएको विषयमा प्रतिक्रियाहरु आउने क्रम जारी रहँदा ह्वाइट हाउसकी एक प्रवक्ताले ट्रंपले आफू निर्वाचित भएलगत्तैदेखि एफबीआई प्रमुख कोमीलाई बर्खास्त गर्न चाहेको बताएकी छन्।

वासीङ्टनमा विवाद चर्कदैं जाँदा ह्वाइट हाउसले ट्रंपको अभियान र क्रेमलिनबीचको साँठगाँठको आरोपबारे अनुसन्धान गर्न विशेष अभियोजनकर्ता नियुक्त गर्नु पर्ने मागलाई अस्वीकार गरिदिएको छ।

"कुनै कारणवश वा कुनै कारणबिना नै राष्ट्रपतिले एफबीआई प्रमुखलाई बर्खास्त गर्न सक्ने" व्यहोरा एक पत्रमा लेखेर कार्यालय छोडेका कोमीलाई सिनेटको गुप्तचर समितिले अर्को साता सुनुवाईको लागि बोलाउन लागेको छ।