इंगल्याण्डका अस्पतालमा 'साइबर अट्याक'

  • 12 मे 2017
NHS website तस्वीर कपीराइट NHS
Image caption लण्डन, ब्ल्याकबर्न, नटिंगम, कम्ब्रिया र हाटफर्डशिअर क्षेत्रका एनएचएस ट्रस्ट र अस्पतालहरु साइबर हमलाबाट प्रभावित भएका छन्।

ब्रिटेनमा अस्पतालहरु संचालन गर्ने न्याशनल हेल्थ सर्भिस ट्रस्टहरुले आफ्ना इन्टरनेट प्रविधि प्रणालीहरुलाई पूर्णतया बन्द गरेका छन्।

अस्पतालहरुले आपतकालीन केसहरुलाई अन्यत्र पठाउन वाध्य हुनु परेको बताइएको छ।

एनएचएस इंग्ल्याण्डको कार्यकारी निकायले यो साइबर हमलाका बारे अनुसन्धान भैरहेको बताएको छ।

लण्डन, ब्ल्याकबर्न, नटिंगम, कम्ब्रिया र हाटफर्डशिअर क्षेत्रका एनएचएस ट्रस्ट र अस्पतालहरु साइबर हमलाबाट प्रभावित भएका छन्।

त्यस क्षेत्रका प्रारम्भिक चिकित्सा सेवाको क्षेत्रमा काम गर्ने चिकित्सक, जीपी, हरुले कम्प्युटर प्रणालीले काम नगर्ने भएपछि कागत र कलम लिएर काम गर्न परेको एउटा स्थानीय पत्रिका ब्ल्याकपुल गजेटले जनाएको छ। समाचार अनुसार प्रभावित क्षेत्रमा फोन र आइटी प्रणाली पनि बन्द भएका छन्।

एनएचएस इंग्ल्याण्डले यो समस्याका बारे आफूहरु जानकार रहेको र अनुसन्धान भैरहेको जनाएको छ।

समस्या

साइबर हमलाबाट प्रभावित मध्येको पूर्वी तथा उत्तरी हाटफर्डशिअर एनएचएस ट्रस्टले आफूहरुले टेलिफोन र कम्प्युटर प्रणालीमा समस्या व्यहोरिरहेको जनाएको छ।

उक्त अस्पतालले शुक्रबारका लागि जरुरी नभएका सबै काम स्थगित गरेको छ र मानिसहरुलाई स्टीभनेजस्थित लिस्टर अस्पतालको आपतकालीन उपचार कक्षमा नआउन अनुरोध गरेको छ।

आइटी विशेषज्ञहरुले यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने प्रयास गरिरहेका उक्त ट्रस्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रणाली बन्द

डाबीशिअर कम्युनिटि हेल्थ सर्भिसेज एनएचएस ट्रस्टले पनि आफू त्यस्तो साइबर हमलाबाट प्रभावित भएको र आफ्ना सबै आइटी प्रणाली बन्द गरिदिएको बताएको छ।

ब्रिटेनबाहेक स्पेन, रुस, अमेरिका र चीनमा पनि साइबर हमलाहरु गरिएका समाचार प्राप्त भएका छन्।

ती हमला आपसमा संबन्धित भए, नभएको खुलीसकेको छैन।