विश्व व्यापारको नयाँ चिनियाँ परिभाषा

  • 13 मे 2017
तस्वीर कपीराइट YOUTUBE/CHINADAILY

यसै सप्ताहान्त चीनका राष्ट्रपति सी जिनपिङले तपाईलाई एउटा कथा सुनाउने प्रयास गर्दैछन्।

तर सबैभन्दा पहिले उनले त्यो कथा विश्व नेताहरुसमक्ष प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।

अमेरिका, जापान, भारत वा युरोपेली संघका अधिकांश देशका नेताहरुलाई भने होइन् किनभने ती देशका नेताहरुले उनको निम्तो अस्वीकार गरेका छन्।

यसै सप्ताहान्त राष्ट्रपति सीले आफूले निम्तो गर्न सक्ने जति सबै राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बेइजिङ बोलाएका छन् र त्यसक्रममा उनीहरुलाई चीन विश्वलाई फाइदा पुर्याउने असल शक्ति भएको भनेर प्रेरणा दिने अपेक्षा गरेका छन्।

चीनले आफ्नो समर्थ्य बाँकी विश्वबाट लुकाउनु हुँदैन भन्ने दह्रो दृढता सहित सी जिनपिङ पाँच वर्षअघि सत्तामा आएका थिए।

चीनसँग ओबिओआरको समझदारीपत्रमा हस्ताक्षर

ओबिओआरबाट के फाइदा?

विश्व व्यवस्थामा पर्दा पछाडि चुप लागेर बस्ने देश भन्दा पनि एउटा मजबुत र परम्परागत सभ्यताबाट साधारण अर्थतन्त्र हुँदै चार दशक भन्दा कम अवधिमा नै विश्व शक्ति बनेको चीनले आफ्नो अस्तित्व प्रदर्शन गर्नुपर्छ भन्ने उनले अनुभूति गरेका थिए।

"चीन र बाँकी विश्वबीचको सम्बन्धले ऐतिहासिक परिवर्तनहरु देखिरहेको छ, त्यही भएर चीनका कथाहरु तपाईंहरुले राम्ररी सुनाउनुहोला," देशका सञ्चारमाध्यम, कूटनितीज्ञ तथा बौद्धिक संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले भनेका थिए। त्यसक्रममा उनले विश्व शान्ति स्थापना तथा विश्व विकासमा योगदान पुर्याउने राष्ट्रका रुपमा चीनलाई प्रस्तुत गर्न उनीहरुलाई भनेका थिए।

यसै हप्ता बेइजिङमा आयोजना हुने 'बेल्ट एण्ट रोड फोरम'को कार्यक्रममा उनले आफूलाई कथावाचकको रुपमा प्रस्तुत गर्नेछन्। 'अमेरिकालाई फेरी महान बनाऔँ' भन्ने राष्ट्रपति ट्रम्पको अभियान अनि ब्रिटेनको बहिर्गमनसँग युरोपेली संघले गरिरहेको संघर्ष र अन्य कतिपय चुनौतीहरुका कारण अहिले विश्वमा चिनियाँ प्रयासको अर्को प्रतिस्पर्धी अवधारणा देखिदैँन।

एउटा भूराजनीतिक अवधारणा ?

तस्वीर कपीराइट AFP

चीनको अवधारणाको अन्तर्यका बारेमा उनका सबै पहुनाहरु जानकार नै छन्।

आर्थिक रुपान्तरण र तीव्र वृद्धिदरले चीनलाई परम्परागत रुपमा पूर्वी एसियाको अर्थतन्त्रको केन्द्रमा फर्काएको छ। र, अहिले राष्ट्रपति सी चिनियाँ पैसा र निर्माण सामर्थ्यलाई प्रयोग गरी युरेसिया क्षेत्रमा बन्दरगाह, सडक र रेल निर्माण गर्न चाहन्छन् र त्यसको केन्द्रमा चीनलाई राख्न चाहन्छन्। उक्त विशाल अभ्यास अन्तर्गत एक आपसमा जोड्न सम्पर्क विस्तारलाई मुख्य विषयवस्तु बनाइएको छ।

वासिङ्टन, टोक्यो तथा नयाँ दिल्लीका आलोचकहरुले यस अवधारणा अन्तर्गतका केही परियोजनाहरु रणनीतिक रुपमा निक्कै महत्वपूर्ण रहेको ठहर गरेका छन्।

मध्य एसियाभर विस्तार भएका तेल र ग्यास पाइपलाइनहरु र हिन्द महासागर अन्तर्गत पाकिस्तान र श्रीलंकामा रहेका बन्दरगाहहरुले सैन्य तथा व्यापारिक स्वार्थहरु पनि पूर्ति गर्नसक्ने ठानिएको छ।

कयौँ विश्लेषकहरुले चिनियाँ 'बेल्ट एण्ड रोड' परियोजनामा स्वाभाविक भूराजनीतिक स्वार्थ देखिरहेका छन् तर शंकालु तथा असहयोगी छिमक माझ रहेको चीनले त्यसलाई अस्वीकार गरिरहेको छ।

आफ्नो योजनालाई कम खतरनाक देखाउन चीनले यो अवधारणालाई 'सिल्क रोड' भनिने प्राचिन रेशम मार्गसँग जोडिरहेको छ।

उक्त बाटो हुँदै एक हजार वर्षभन्दा अघि ऊँटहरुको लस्करले चिनियाँ सामाग्रीहरु एसियाको पश्चिमतर्फको बजारमा पुर्याउने गर्थ्यो।

चीनको मुख्य उद्देश्य आफ्नो गैर सैनिक सामर्थ्य भनिने 'सफ्ट पावर' मजबुत बन्दै गएको र शान्तिपूर्ण रुपमा आपसी लाभ लिने गरी काम गर्न आफ्नो देश तयार रहेको सन्देश दिनु रहेको छ।

तर 'बेल्ट एण्ड रोड' अवधारणा प्राचिनकालको ऊँटहरुको लावालस्कर भन्दै निकै महत्वकांक्षी रहेको छ।

स्थलमार्ग र समुद्री मार्ग दुवैको प्रयोग गरी यातायात सञ्जाल विस्तार गर्ने, दूरसञ्चार, इन्धन पाइपलाइन र औद्ध्योगिक केन्द्रहरुको स्थापना गर्ने लक्ष्य चीनको छ जसअन्तर्गत विश्वका ६० भन्दा बढी देश तथा विश्वको झण्डै ६० प्रतिशत जनसंख्यासम्म पुग्ने भनिएको छ।

र, देशभित्रका आफ्ना नागरिकहरुलाई 'बेल्ट र रोड' अवधारणाको कथा चीनले अलि फरक ढंङ्गले प्रस्तुत गर्दै आएको छ।

त्यसक्रममा विदेशीहरुले पाउने फाइदामा कम जोड दिनुका साथै उक्त अवधारणा अन्तर्गत चीनको दुर्गम पश्चिम क्षेत्रले धेरै अवसरहरु पाउने र चीनको द्रुत रेल तथा परमाणु शक्ति सम्बन्धी सामर्थ्य थप बढ्ने भनिएको छ।

दन्त्यकथा

विदेशी बालबालिकाहरुलाई लक्षित गरेर समेत प्रचार सामाग्रीहरु तयार पारिएका छन्।

तस्वीर कपीराइट YOUTUBE/CHINADAILY

यसै सप्ताहान्त चिनियाँ राष्ट्रपति सी अखबारहरुका मूल समाचारमा हुनेछन् तर चीनको सरकारी समाचारपत्र चाइना डेलीले आफ्नो अनलाइन संस्करणमार्फत एक जना अमेरिकी पिताले आफ्नी छोरीलाई सुत्नेबेला सुनाइने कथामा 'वेल्ट एण्ड रोड'लाई 'विश्वका लागि चीनले ल्याएको योजना'का रुपमा प्रस्तुत गरिरहेको भिडियो राखेको छ।

एउटा लोकप्रिय म्युजिक भिडियोमा एक प्रकारको गितार बजाइरहेका बहुजातीय बालबालिकाको समूहले 'बेल्ट एण्ड रोड'को गुणगान गाउँदै गित गाइरहेको देखाइएको छ।

"हामी नयाँ सडक बनाउँदैछौँ, धेरै बन्दरगाहहरु निर्माण गर्दैछौँ र सबै प्रकारका मित्रहरुका लागि नयाँ विकल्पहरु खोज्दैछौँ, यो संस्कृतिको आदानप्रदान हो, हामी हाम्रो धनलाई खर्च गरेर हाम्रो मुटुहरु जोड्दैछौँ र हाम्रो स्वास्थ्यलाई बलियो बनाउँदैछौँ," भिडियोमा भनिएको छ।

राष्ट्रपति सीले 'बेल्ट एण्ड रोड'का बारेमा कथा भन्न थालेको चार बर्ष बितिसकेको छ।

तर अहिले नै किन उनले बेइजिङमा भव्य कार्यक्रम गरी विश्वका नीति निर्माताहरुलाई बोलाउन लागेका हुन् भन्ने प्रश्न उब्जिएको छ।

व्यक्तिगत तथा राष्ट्रीय स्वार्थ

त्यसको एउटा संक्षिप्त जवाफ हुन्छ उनलाई आर्थिक वृद्धि बढाउनुछ।

चीनको घरेलु अर्थतन्त्र सुस्त हुँदै गएको छ र 'बेल्ट एण्ड रोड' अन्तर्गत चिनियाँ निर्माण क्षमतालाई अन्यत्र निर्यात गर्दा त्यसले घरेलु अर्थतन्त्रलाई तत्कालीन तथा मध्यम अवधिका निम्ति बढावा दिने देखिन्छ।

यदि केही मात्रै पूर्वाधार परियोजनाहरु सफल भएभने मात्रै पनि दिर्घकालीन वृद्धि निम्त्याउने गरी चीनका अन्य छिमेकीबाट पनि त्यस्तै परियोजनाहरुको माग हुनसक्नेछ।

तर यही समय छानिनुको पछाडिको कारण थाहा पाउनलाई राष्ट्रपति सीको आफ्नै राजनीतिक जीवनचक्रसँग घटनाक्रमलाई जोडेर हेर्नुपर्ने देखिन्छ।

एक पार्टी अवधारणा अवलम्बन गरेको चीनमा कम्युनिष्ट पार्टीको नेता बन्नु देशको राष्ट्रपति बन्नु भन्दा महत्वपूर्ण मानिन्छ र यसै वर्ष चीनले पार्टीको महत्वपूर्ण महाधिवेशन गर्दैछ।

तस्वीर कपीराइट Getty Images

यसै सप्ताहन्त आयोजना हुने सम्मेलनमार्फत उनले अन्तर्राष्ट्रिय मञ्चमा चीनको प्रभाव बढ्दै गएको सन्देश आफ्ना पार्टी र सर्वसाधारणलाई दिन पाउनेछन्।

तेस्रो कारण, अहिलेका अन्तर्राष्ट्रिय घटनाक्रमहरु पनि हुन्।अमेरिकाका मित्र तथा साझेदारहरु राष्ट्रपति ट्रम्पले 'ट्रान्स प्यासिफिक' व्यापार सम्झौताबाट फिर्ता हुने निर्णय लिएकोमा दु:खी छन्। त्यसअघिका अमेरिकी राष्ट्रपति बराक ओबामाले उक्त सम्झौता एसियामा चीनको प्रभुत्व कायम हुन नदिन महत्वपूर्ण रहेको बताउने गरेका थिए।

राष्ट्रपति सीको 'बेल्ट र रोड' अवधारणालाई जोड दिने नयाँ प्रयास एक किसिमको राजनीतिक अवसरवाद जस्तै हो जसलाई उनले गएको ज्यानुएरीमा विश्वव्यापीकरणको प्रतिरक्षाका गर्दा समेत प्रस्तुत गरेका थिए।

अन्योलपूर्ण परिणाम

चयन गरिएको समय हेर्दा चीनका राष्ट्रपति भाग्यमानी देखिन्छन् र भव्य सम्मेलन आयोजनाका लागि उनले साहस पनि देखाएका छन्।

आफ्नो उद्देश्य र प्रगतिलाई कुनै पनि देशले चीनले जसरी भव्य रुपमा प्रस्तुत गर्न सकिरहेको देखिदैँन।

यो सप्ताहन्त बेइजिङको आकाश नीलो देखिनेछ। धुवाँ, लथालिंङ ट्राफिक र मानिसहरु कम बस्ने तथा काम नालग्ने पूर्वाधार सहितका नगरहरु दृश्यबाट टाढै हुनेछन्।

तस्वीर कपीराइट AFP

सारमा यो नै राष्ट्रपति सी जिनपिङको कथा र प्रस्तुति हुनेछ। चीनले आफूले देशभित्र हासिल गरेका प्रगतिहरु विश्वको जुनसुकै कुनामा दोहोर्याउनसक्नेछ भन्ने सन्देश राष्ट्रपति सीले दिनेछन्।

तर वास्तविकता के हो भने राष्ट्रपति सीका आकांक्षाहरु सिद्धान्तत: एकचोटीमा केही मानिसहरुका लागि मात्रै उपयुक्त हुने गरेको छ र त्यसले एकदमै विशिष्ट उद्देश्य बोकेका लक्ष्यहरु मात्रै पूरा गरेको पाइन्छ।

बेइजिङमै आकाश सधैँ नीलो देखिदैँन र ट्राफिकको भद्रगोल नियमित रुपमा देख्न सकिन्छ अनि स्रोतहरुको समेत दुरुपयोग भइरहेको पाइन्छ।

चीनको अर्थतन्त्र अहिले पनि भारी ऋणले दबिएको छ किनभने अन्य देशका जस्तै यहाँका लगानीकर्ताहरु पनि विफल भएका छन्।

तर साँच्चै राम्रा परियोजना र उपयुक्त खर्चमा चीनका क्षमतावान निर्माणकर्ताहरुले विश्वलाई नै ‌आश्चर्यचकित बनाउने पूर्वाधारहरु निर्माण गर्न सक्छन्।

तर सधैँ अवस्था त्यस्तो हुँदैन। 'बेल्ट एण्ड रोड' एउटा महत्वपूर्ण अभियान हो तर त्यसका सीमा, समयवधि र परिणामहरु अझै अनिश्चित नै छन्।

राष्ट्रपति सीका पहुनाहरुले सबै चिनियाँ पक्षहरुले उक्त अवधारणा स्वीकार गरिसकेको र सबै दन्त्यकथाहरु वास्तविकतामा रुपान्तरण हुन्छन् भनेर ठान्ने गल्ती भने गर्नुहुँदैन।