स्थानीय चुनावको पहिलो चरण आज

  • 14 मे 2017
मतपेटिका

संघीय संरचना अनुसार बनाइएका स्थानीय तह मध्ये २ सय ८१ वटामा जनप्रतिनिधि चयनका लागि आइतबार पहिलो चरणको मतदान हुँदैछ।

दुई वटा स्थानीय तहमा भने एक, एक जनाको मात्रै उम्मेदवारी परेकाले त्यहाँ भने मतदान हुनेछैन।

करिब ७ हजार मतदान केन्द्रहरुमा मतदान सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयमा मत संकलन गरिने र कयौं स्थानमा लगत्तै मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ।

आइतबारको मतदानको परिणाम संगै करिब १५ वर्ष पछि ३८ प्रतिशत क्षेत्रमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पुनर्स्थापित हुनेछन्।

बाँकी ६२ प्रतिशत क्षेत्रमा एक महिनापछि निर्वाचन गर्ने तय गरिएको छ।

बैशाख १९ गते उम्मेद्वारी दर्ता भएसँगै शुरु भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबैभन्दा महत्वपूर्ण काम मानिएको मतदान आइतबार ७ बजेबाट शुरु हुँदैछ।

मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

व्यवस्थापन

३, ४ र ६ नम्बर प्रदेशका ३४ वटा जिल्लाका ४ वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ९२ वटा नगरपालिका र १८६ वटा गाउँपालिकामा जनप्रतिनिधि चयनका लागि मतदान हुनेछ।

झण्डै ७ हजार केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

जुन कामका लागि ४६ हजार कर्मचारी र ६८ हजार सुरक्षाकर्मी खटाइएको छ।

करिब १३ हजार पदका लागि हुने निर्वाचनमा झन्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन्।

ती मध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ।

आइतबारको मतदानमा करिब ५० लाख मतदाताले मतदान गर्न पाउने छन्।

मतदाता नामावलीमा नाम भएका तर प्राविधिक कारणले मतदाता परिचयपत्र नभएका मतदातालाई सरकारी निकायले जारी गरेका नागरिकता, राहदानी, सवारीचालक प्रमाणपत्र लगायतका परिचयपत्रका आधारमा पनि मतदान गर्न दिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

सुरक्षा

गोप्य र शान्तिपूर्ण रुपमा सबै मतदानकेन्द्रहरुमा मतदान हुने गरी सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ।

मतदानस्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीनवटामा वर्गीकरण गरी त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयका अधिकारीको भनाइ छ।

आइतबारको मतदानबाट नगरप्रमुख वा अध्यक्ष गरी २८१ र त्यतिकै संख्यामा उपप्रमुख वा उपाध्यक्ष निर्वाचित हुने छन्।

त्यस्तै २ हजार ५ सय ९८ वडाध्यक्ष निर्वाचित हुने छन्।

मतदान सकिए लगत्तै मतदान केन्द्रहरुबाट मतपेटीकाहरु संकलन भएर निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि सर्वदलीय सहमतिका आधारमा मतगणना शुरु गर्ने योजना रहेको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन्।

पहिलो चरणको निर्वाचन सकिएसँगै बाँकी ४ सय ६१ वटा स्थानीय तहको निर्वाचनको प्रक्रिया शुरु हुनेछ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको मिति जेष्ठ ३१ गतेलाई तोकेको छ।