‘मतपेटिका संकलन हुने बित्तिकै मतगणना’

  • 14 मे 2017
मतपेटिका
Image caption मतपेटिका संकलन कार्यलाई आइतबार साँझबाटै तीव्रता दिइएको निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणको स्थानीय तह निर्वाचनका क्रममा आइतबार ३४ जिल्लामा ७० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै आयोगले स्थानीय तहबाट मतपेटिका संकलन भए लगत्तै मतगणनाको काम सम्भव भएसम्म आइतबार रातिदेखि नै हुने बताएको छ।

आयोगका अधिकारिहरुले पहिलो चरणको मतदानमा देखिएको जस्तै उत्साह जेठ ३१ गतेको दोस्रो चरणमा समेत देखिने विश्वास व्यक्त गरेका छन्।

२० वर्षपछि भएको स्थानीय तह निर्वाचनमा भक्तपुर, गोरखा, डोल्पा र रसुवामा ८० प्रतिशत र सोभन्दा बढी मतदान भएको आयोगले जनाएको छ।

डोल्पाको शे-फोक्सुण्डो र मानङको नार-फू गाउँपालिकामा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएको बताइएको छ।

मतदान

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक पत्रकार सम्मेलनमा अन्य २८१ स्थानीय तहको चुनावमा कम्तीमा ७१ प्रतिशत मतदान भएको जानकारी दिए।

प्रदेश नम्बर तीन, चार र छ बाहेकका प्रदेशमा अबको ठीक एक महिनापछि दोस्रो चरणको चुनाव हुँदैछ।

प्रमुख निर्वाचन आयुक्त यादवले आइतबारको चुनावमा देखिएको मतदाता सहभागिताले जेठ ३१ गतेको चुनावका लागि सकारात्मक सन्देश दिने आशा व्यक्त गरे।

"ज्येष्ठ नागरिक, अपाङता भएका व्यक्ति, दृष्टिविहीन र किरियापुत्रीसम्मले निकै उत्साहपूर्वक सहभागिता जनाउनुभएको थियो। यस सहभागिताले जेठ ३१ गतेको निर्वाचनमा मतदानमा सहभागिता जनाउने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको छ।"

आयोगका अनुसार मतदान स्थलबाट मतपेटिकाहरु निर्वाचन अधिकृतका कार्यालयहरुमा प्राप्त भएलगत्तै राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको काम थालिने छ।

त्यो काम आइतबार राति नै वा सोमबार बिहान सवेरैबाट शुरु हुने अपेक्षा आयोगको छ।

आइतबारको मतदानको क्रममा काभ्रेको नमोबुद्ध, कालिकोटको कालिका र दोलखाको मेलुङमा मतदान स्थगित हुन पुगेको आयोगले जनाएको छ।

दोलखाको मेलुङमा सुरक्षा कारबाहीमा एक व्यक्तिको ज्यान गएकोमा आयोगले दु:ख व्यक्त गरेको छ।