निर्वाचित प्रतिनिधिले कार्यभार सम्हाल्ने कहिलेदेखि?

  • 15 मे 2017
election तस्वीर कपीराइट AFP

आइतबार सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनपछि चुनिने जनप्रतिनिधिले कार्यभार सम्हाल्ने तिथी मितिबारे अन्योल कायमै छ।

विभिन्न कानुन पारित गर्ने विधिबारे सरकार नै तयार नभएकाले निर्वाचित हुने प्रतिनिधिहरुले कार्यभार सम्हाल्न कम्तिमा पनि दुईहप्ता कुर्नुपर्ने अधिकारीहरुले बताएका छन्।

तर संसदमा विचाराधीन स्थानीय शासन सञ्चालन गर्न बनेको विधेयक द्रुत प्रकृयाबाट पारित भए स्थिति सहज बन्न सक्छ।

तीन प्रदेशमा आइतबार सम्पन्न निर्वाचनवाट करिब १३ हजार जनप्रतिनिधि निर्वाचित हुनेछन्।

कानुनत: निर्वाचित हुने जनप्रतिनिधिहरुको पाँच वर्षे म्याद निर्वाचनको दिन देखि प्रारम्भ हुन्छ।

अन्योल

त्यसैले विद्यमान कानुनी अन्योल अन्त्य गर्न विभिन्न विकल्पबारे विचार भैरहेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए।

उनले भने, "यो निर्वाचनको सबै प्रकृया पूरा गर्न १५-१६ दिन अझै लाग्छ। हामीले उक्त अवधिमा कानुनी व्यवस्था गर्नसक्ने गरि आवश्यक तयारी गरिरहेका छौ। समय अभावका कारण द्रुत प्रकृयाबाट यो कानुन तर्जुमा गर्न सक्छौं। यसलाई अध्यादेशवाट पनि ल्याउन सकिन्छ।"'

संसदमा दर्ता विधेयकमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले सम्बन्धित जिल्लाको न्यायाधीश समक्ष शपथ ग्रहण गर्ने प्रस्ताव गरिएको छ।

गाउँपालिका तथा नगरपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र सभाका सदस्यले सम्बन्धित अध्यक्ष र प्रमुखसमक्ष शपथ ग्रहण गर्नेछन्।

द्रुत प्रकृया

चालु संसद अधिवेशन अन्त्य गरि बजेट अधिवेशन आह्वान गर्नुपर्ने अवस्था छ। उक्त विधेयकलाई यही समयमा द्रुत प्रकृयाबाट पारित गर्न सकिने सम्भावना चाहिं रहेको व्यवस्थापिका संसदका प्रवक्ता भरत गौतमले बताए।

प्रकृयाबारे बताउँदै उनले भने, "केही प्रकृयाहरु अलिकति छोट्टयाएर भएपनि द्रुत प्रकृयाबाट कानुन ल्याउने सरकारको तयारी हुनसक्छ। तर यो अधिवेशन अन्त्य गरेर अर्को अधिवेशन आह्वान गर्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनु पर्ने अवस्था विद्यामान छ। जति नै छोटो गरेपनि कम्तीमा १० दिन त लाग्ने देखिन्छ।"