फ्रान्समा नयाँ प्रधानमन्त्रीको चयन

  • 15 मे 2017
एड्वार फिलिप तस्वीर कपीराइट AFP

फ्रान्सका नयाँ राष्ट्रपति एमानुएल माक्रोंले आफ्नो पार्टीका सदस्यलाई नभएर रिपब्लिकन पार्टीका मध्य-दक्षिणपन्थी राजनीतिज्ञलाई प्रधानमन्त्री चुनेका छन्।

छायलीस वर्षीय सांसद एड्वार फिलिप पश्चिमको बन्दरगाह शहर ल आभरका मेयर पनि हुन्।

अरु रिपब्लिकनहरुलाई आफ्नो मध्यमार्गी पार्टी ला रिप्यूब्लिक आँ मार्शमा आउन प्रोत्साहित गर्नका लागि माक्रोंले त्यस्तो कदम चालेको ठानिएको छ।

सो पार्टीले भिन्न राजनीतिक धारहरुबाट समर्थन प्राप्त गर्न खोजिरहेको छ।

माक्रोंले आफ्नो महत्वाकांक्षी राजनीतिक कार्यक्रमलाई सफल बनाउने हो भने आगामी महिना हुने संसदीय निर्वाचनमा उनलाई त्यस्तो समर्थन आवश्यक हुनेछ।

पहिलो नियुक्ति

कार्यालयमा व्यस्त पहिलो दिनमा फ्रान्सका राष्ट्रपति माक्रोंले सो घोषणा गरेका हुन्।

त्यसपछि लगत्तै उनी जर्मन चान्सर एंगेला मर्केललाई भेट्न जर्मनी जाँदैछन्।

फ्रान्सका घण्टौंसम्म अड्कलबाजी भएपछि माक्रोंले महत्वपुर्ण पदमा पहिलो नियुक्ति गरेका हुन्।

उत्तरी बन्दरगाह शहर ल आभरका मेयर एड्वार फिलिपलाई यो भन्दा अघि नै उक्त पदका प्रबल दावेदार ठानिएको थियो।

समर्थन आवश्यक

उनी सन् २०१६ को नोभेम्बर राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीभित्र उम्मेदवारीका लागि लडेका अलाँ झुपेसंग निकै अघिदेखि नजीक छन्।

राष्ट्रपतिको घोषणाको प्रतिकृया दिंदै झुपेले नयाँ प्रधानमन्त्रीलाई 'धेरै प्रतिभाशाली मानिस' भनेका छन्।

राष्ट्रपति माक्रोंले आगामी महिना महत्वपुर्ण संसदीय निर्वाचनको सामाना गर्नेछन्।

आफ्ना आर्थिक सुधारहरु लागू गर्नका लागि उनलाई मध्य दक्षिणपन्थीहरुको साथ आवश्यक हुन सक्छ।

उम्मदेवार घोषणा

उनान्चालीस वर्षीय भूतपुर्व ब्यांकर र अर्थमन्त्री माक्रोंले आइतबार एलिजी दरबारमा एउटा समारोहमाझ शपथग्रहण गरेका थिए।

उनको नयाँ पार्टी ला रिप्यूब्लिक आँ मार्शले आगामी जुन महिनामा हुने निर्वाचनमा भाग लिने ४२८ उम्मेदवारका नाम गत हप्ता घोषणा गरेको थियो जसमध्ये आधी महिला छन्।

ती मध्ये ५ प्रतिशत मात्रै हालको संसदका सदस्य हुन् र ती सबै समाजवादी वामपन्थीहरु हुन्।

बहुप्रतिक्षित

युरोपेली संघका समर्थक राष्ट्रपति माक्रो र जर्मन चान्सलर मर्केलका बीच बर्लिनमा हुने भेटघाट बहुप्रतिक्षित छ।

मर्केलले सोमबार फ्रान्समा नयाँ राष्ट्रपतिको चुनावले युरोपको विकासमा गति दिने सम्भावना उत्पन्न भएको बताएकी थिईन्।

तर युरोक्षेत्रको सुधार गर्ने माक्रोंका योजनाप्रति उनी सावधान देखिईन् र माक्रोंसंग ती योजनाका बारेमा छलफल गर्ने बताइन्।