मतदाता शिक्षामा विशेष ध्यान दिइने

  • 16 मे 2017
मतपत्र

झण्डै बीस बर्षपछि भएको स्थानीय तहको निर्वाचनमा पहिलो चरणको प्रारम्भिक मतगणनामा धेरै मत बदर भएको देखिएपछि निर्वाचन आयोगले दोस्रो चरणको मतदानका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने बताएको छ।

प्रदेश नम्बर १,२,५ र ७ मा जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचनको लागि एक हप्ताभित्र मतदाता शिक्षा कार्यक्रम आरम्भ गर्ने आयोगका एक अधिकारीले बताएका छन्।

प्रदेश नम्बर ३, ४ र ६ मा भएको पहिलो चरणको निर्वाचनको पर्यवेक्षण गरिरहेका थुप्रै संस्थाहरुले मतदाता शिक्षा अपुग भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

यसै अनुरुप प्रदेश नम्बर १, २, ५ र ७ मा हुने दोस्रो चरणको चुनावमा मतदातालाई यस्तै अन्योल नहोस् भनेर मतदाता शिक्षा अझै प्रभावकारी बनाउन निर्वाचन आयोग लागेको आयोगका सचिव गोपीनाथ मैनालीले बताए।

अन्योल

उनले भने, "दोस्रो चरणमा हुने निर्वाचनका लागि मतदाता शिक्षा अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं। मतदाता शिक्षा प्रदान गर्ने कार्यकर्तालाई एक हप्ता पछि नै परिचालन गर्छौं।''

अघिल्ला निर्वाचनमा भन्दा धेरै चुनाव चिन्ह भएको ठूलो मतपत्रमा कती ठाउँमा मत हाल्ने अनि मत बदर नहुने गरी कसरी मतपत्र पट्याउने जस्ता जानकारी बारे थुप्रै मतदाता अन्योलमा रहेको पर्यवेक्षकहरुले बताएका छन्।

नियुक्ती

जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्न पनि बाँकि छ।

यसबारे पनि आयोगले सरकारसंग छलफल गरिरहेको सचिव मैनालीले बताए।

उनले भने, "निर्वाचन अधिकृतको नियुक्ती फेरी पनि गर्न पर्ने हुनसक्छ किनभने कतिपय निर्वाचन अधिकृतहरु अन्यत्र खटन भएको अवस्था छ। त्यसैले हामीले सोमबार सरकारसंग संभावित अधिकृतका लागि केही उपसचिवका नाम लिएका छौं।''