‘ट्रम्पद्वारा अति गोप्य जानकारी खुलासा’

  • 16 मे 2017
भेट तस्वीर कपीराइट AFP

राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी विदेशमन्त्रीसँग तथाकथित इस्लामिक स्टेटबारे अति गोप्य जानकारी खुलासा गरेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन्।

वाशिङटन पोस्टका अनुसार विमानमा प्यापटप बोक्ने विषयसम्बन्धी सूचना अमेरिकाको एउटा साझेदार मुलुकबाट बाहिर आएको थियो र उक्त सूचना रुसलाई बताउन अनुमति दिइएको थिएन।

ट्रम्पले रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई गत हप्ता राष्ट्रपति कार्यालयमा स्वागत गरेका थिए।

राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले पछिल्लो रिपोर्टलाई "झुटो" भनेका छन्।

छानबिन

ट्रम्पको चुनावी अभियानसँग मस्को जोडिएको विषय पनि कैयौं छानबिनको पाटो बनेको छ।

चुनावी अभियानका क्रममा ट्रम्पले संवदेनशील विषयलाई राम्रोसँग सम्हाल्न नसकेको भन्दै आफ्नी डेमोक्रेटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको आलोचना गरेका थिए।

वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सका अनुसार रुसी विदेशमन्त्री र रुसी राजदूतसँग भएको भेटवार्तामा ट्रम्पले सूचनाका स्रोत बाहिर आउन सक्ने विवरणहरु सुनाएका थिए।

तथाकथित इस्लामिक स्टेट समूहको एउटा योजनाबारे उनीहरुबीच छलफल भएको थियो।

संवेदनशील

छलफलमा ट्रम्पले विमानमा ल्यापटपको प्रयोगसहितका योजनाका विस्तृत विवरणहरु र जुन शहरबाट खतरा देखिएको थियो त्यसबारे पनि सुनाए।

ती पत्रिकाहरुका अनुसार त्यो कुरा एउटा अमेरिकी साझेदार मुलुकबाट बाहिर आएको थियो जुन कुरा कुनै पनि साझेदार मुलुकलाई बताउन निकै संवेदनशील ठानिएको थियो।

छलफलमा सहभागी अन्यले गल्ती महसुस गरे अनि "क्षतिलाई ढाकछोप गर्ने" प्रयासस्वरुप त्यो कुराबारे केन्द्री अनुसन्धान निकाय सीआइए र राष्ट्रिय सुरक्षा निकायलाई जानकारी गराएको वाशिङटन पोस्टले जनाएको छ।

यद्यपि ट्रम्पको उक्त कदम गैरकानुनी हुनेछैन किनकि गोप्य सूचना बाहिर ल्याउने अधिकार राष्ट्रतिसँग हुन्छ।