‘दोस्रो चरणको चुनावपछि संशोधनका कुरा’

  • 16 मे 2017
एमाले

संयुक्त मधेशी मोर्चाले संविधान संशोधन विना दोस्रो चरणको स्थानीय चुनावमा पनि सामेल नहुने बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनपछि मात्रै सो विषयमा प्रवेश गर्नुपर्ने बताएको छ।

एमालेका महासचिव इश्वर पोखरेले चुनाव बिथोल्ने गरी संशोधनको मुद्दा अघि सार्न नहुने बताए।

तर मोर्चाको एउटा प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालका एक अध्यक्षले दोस्रो चरणको चुनावमा सहभागिताका लागि संविधान संशोधन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको भन्दै प्रमुख तीन दलले संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग दोहोर्याएका छन्।

पहिलो पटक सरकारले संविधान संशोधन विधेयक संसद्‍मा पेश गर्दा संशोधन किन र कसका लागि भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सशक्त विरोध जनाएको थियो।

प्राथमिकता

तर संयुक्त मधेशी मोर्चाले समेत विमति जनाएपछि पहिलो संशोधक विधेयक फिर्ता लिँदै उसको सहमतिमा दोस्रो विधेयक सरकारले दर्ता गराएपछि एमालेले संविधान कार्यान्वयन र चुनाव अहिलेको प्रमुख प्राथमिकता भएको बताएको थियो।

अहिले आएर पहिलो चरणको चुनाव सम्पन्न भइसकेपछि उसले संशोधनको विषयमा प्रवेश गर्नुअघि पूर्णरुपमा स्थानीय चुनाव सम्पन्न हुनुपर्ने बताएको छ।

एमालेको पछिल्लो अडानबारे सो पार्टीका महासचिव पोखरेलले भने, "चुनाव सकिएपछि संशोधनबारेका कुरा गम्भीर रुपमा कुरा उठाउने सबै राजनीतिक दलहरुसँग नयाँ शिरामा हामीले छलफल गरौँला। चुनाव बिथोल्ने हिसाबले संशोधनको चर्चा गर्ने, संशोधनको कुरा गर्ने होइन।"

महासचिव पोखरेलले संशोधन विधेयकमा समेटिएका प्रदेश सीमांकन र भाषा लगायतका विषयमा पार्टीको अडानमा कुनै परिवर्तन नआएको बताए।

आन्दोलन

प्रमुख प्रतिपक्षी एमालेले त्यस्तो बताइरहँदा चुनावमा सहभागिताका लागि संविधान संशोधनलाई पहिलो शर्त बनाएको संयुक्त मधेशी मोर्चा पनि आफ्नो अडानबाट टसमस भएको देखिँदैन।

सोही अडानलाई लिएर पहिलो चरणको स्थानीय चुनावमा सामेल नभएको मोर्चाको प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालका एक अध्यक्ष राजेन्द्र महतोले भने, "संशोधन लगायतका विषयलाई मुख्य दलले सम्बोधन गर्नुपर्छ र निर्वाचनको वातावरण बनाउनुपर्छ। अन्यथा हाम्रो असहयोग हुन्छ, हाम्रो आन्दोलन हुन्छ।"

सरकारले दोस्रो चरणको संविधान संशोधन गर्ने लगायतका सहमति जनाएपछि मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।

यद्यपि मोर्चाका कतिपय नेताले आफ्ना मागहरु पूरा हुने प्रतिबद्धता आएकाका कारण हाललाई विरोधका कार्यक्रम स्थगित गरिए पनि आफूहरु आन्दोलनमै रहेको बताउने गरेका छन्।