तारानाथ शर्मासंगको कुराकानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'आफ्नै भाषा शुद्ध बोलौं र लेखौं'

  • 24 मे 2017

संस्कृत शिक्षाबाट अध्ययन प्रारम्भ गरेका तारानाथ शर्मा हाल भने नेपाली र अंग्रेजी भाषाका विज्ञ मानिन्छन्।

तर उनले अंग्रेजी पढ्न भने अचानक थालेका रहेछन्।

आठ वर्षको उमेरमा भएको घटना अझै उनको स्मृतिपटमा ताजै छ।

बरबोटे गाउँमा ठूलो बरको रुखमुनि पुग्दा उनले एउटा पत्रिकाको थुप्रो देखे।

त्यो पत्रिका पढेर दिन बिताउने उनले विचार गरे, तर यसो हेर्दा उनले त्यो पत्रिकाका कुनै अक्षर खुट्याउन सकेनन्।

त्यसपछि उनी त्यहीं बरको रुखमुनि बसेर रुन थालेछन्।

अंग्रेजी आरम्भ

तलबाट उकालो चढेर आउँदै गरेका केही लाहुरेले उनलाई सोधे: "बाबु किन रोएको?"

उनले त्यो पत्रिका देखाएपछि लाहुरेले उनलाई भनेः "यो त अंग्रेजी हो। अंग्रेजी पढ्न सकियो भने हवाइजहाज पनि उडाउन सकिन्छ!"

आठ वर्षको उमेरमै रुद्री, चण्डी लगायतका संस्कृतका ग्रन्थ पढिसकेका शर्मालाई त्यसपछि भने अंग्रेजी पढ्नुपर्ने रहेछ जस्तो लागेछ।

हजुरआमाले उनलाई अंग्रेजी अक्षरको चिनारी सहितको ठूलो वर्णमाला किनेर ल्याइदिएपछि उनले अंग्रेजी सिक्न थालेछन्।

विस्तारै उनले इलाममा घरैमा शिक्षकसँग पढ्नुका साथै दार्जिलिङ गएर समेत अंग्रेजीको अध्ययन गरे।

देवकोटाका सम्झना

आफ्ना प्रिय लेखक लक्ष्मीप्रसाद देवकोटालाई उनले पहिलोपटक दार्जिलिङमा पढ्दै गर्दा भेटेका रहेछन्।

कक्षा ९ मा पढ्दै गर्दा उनले दार्जिलिङमा नेपालका साहित्यकार गएको थाहा पाए, र खर्साङको विद्यालयबाट भागेर छ आनाको टिकट काटेर दार्जिलिङ पुगे।

नेपालका साहित्यकार कहाँ रहेछन् भनेर पत्ता लगाएर उनी त्यहाँ नजिकै पुगे, तर त्यहाँ देवकोटालाई देखेनन्।

उनले एकजना मानिसलाई सोधेः महाकवि कता हुनुहुन्छ?

ती मानिसले उनलाई हप्काएः हामी बाहिर निस्किन लाग्यौं, अहिले भेट हुँदैन!

"तर त्यही बेला माथिबाट सलल एउटा देवता बगेर आए, र मलाई सोधेः कसले कसलाई खोजेको?" शर्मा भन्छन्।

दाँत माझ्नका लागि हातमा मञ्जन र लोटा बोकेर आएका देवकोटालाई देखेर उनी असाध्यै खुशी भए, र भने, "म महाकविको दर्शन गर्न आएको।"

देवकोटाले त्यसपछि आफ्नो हात समातेर भनेको प्रसङ्ग सुनाउँदै शर्माले भने, " महाकविले मैले तपाईंको लेख पढेको छु, निकै राम्रो लेख्नुहुन्छ भन्नुभयो। छेउमा सूर्यविक्रम ज्ञवाली भनिरहेका थिए, कविजी, यस्ता केटासँग अल्झेर नबस्नुस्, हामीलाई हतार भइसक्यो"।

कविता सविता

तर देवकोटाले उहाँलाई उल्टै भन्नुभयो: तपाईं जाने भए जानुस्, म भोलिको नेपालसँग कुरा गर्छु!"

र त्यही क्रममा उनले देवकोटाको कविताको प्रशंसा गरेपछि देवकोटाले उनलाई भनेछन्: 'कविता कहिल्यै नलेख्नु बाबु!' र उनको कापीमा लेखिदिएः

कविता सविता मेरी

लविता लविला बनें

त्यसैको प्रेमले जल्दै

आगो आँसु दुवै बनें

"म कविता लेखेर बहुलाएँ, मलाई राँची पठाए, दुःख दिए तर पनि मैले कविता लेख्न छोडिन। तर तपाईं चाहिं नलेख्नु है बाबु! भनेर मलाई देवकोटाले सल्लाह दिनुभयो," शर्मा सुनाउँछन्।

त्यही सुझावका कारण आफूले कहिल्यै कविता नलेखेर अन्य विधामा कलम चलाएको शर्मा बताउँछन्।

त्रिदेवको समालोचना

देवकोटाले आफ्नो लेख पढेको र आफूलाई चिनेकोमा उनी त्यसै मख्ख नै थिए, र जीवनभर उनलाई देवता नै मानेको उनी बताउँछन्।

त्यस बाहेक उनले पौडेल र बालकृष्ण समलाई समेत त्यस्तै देवता मानेर उनीहरुलाई त्रिदेव भन्ने गरेका रहेछन्।

"उनीहरु आँखामा राख्दा पनि नबिझाउने थिए," उनी सम्झन्छन् "कृतिको समालोचना गर्दा समेत मलाई उल्टो प्रशंसा गर्ने मानिस देवता होइनन् र?"

शर्माले समका कृतिको समालोचना मात्रै गरेनन्, ती समालोचनाको पुस्तक समेत लेखे।

त्यसै क्रममा समको 'चिसो चुल्हो' नाटकलाई उनले 'झुसिलो डकार' भनेका रहेछन्।

एउटा जमघटमा समलाई भेट भएपछि उनले डराउँदै, डराउँदै आफूले मानेका ती नाटककारलाई नमस्कार गरे।

तर उनलाई गाली गर्नुको सट्टा समले भने, "ठीक भन्नुभो तपाईंले। त्यो मेरो कृति झुसिलो डकार नै हो।"

आफ्नो पाठकको स्तर हेरेर लेख्नुपर्ने हो, तर मैले त्यसो केही नगरी आफ्नै ज्ञानलाई ठूलो मानेर अस्पष्टसँग लेखें, अनि त झुसिलो डकार हुने भैगो नि!"

नियात्रा शुरुवात

शर्माले समालोचना मात्रै होइन, थुप्रै विधामा कलम चलाएका छन्, जसमध्ये नियात्रा विधामा उनका कृति मानक मानिन्छन्।

उनकै कृतिबाट नामाकरण गरिएको नियात्रा विधाको शुरुवातका बारेमा पनि उनीसँग रोचक किस्सा रहेछ।

वेल्समा पढ्न जाँदा उनी मेनाई ब्रिज अर्थात पुलको छेउमा पुगेका थिए, जहाँ मेला लागिरहेको थियो।

"त्यो मेला असाध्य रमाइलो थियो," उनी सम्झन्छन्, "ठाउँ ठाउँमा ज्योतिषी थिए, मेरो उमेर सोध्थे। केटीहरु आएर धक्का दिन्थे। अनेक किसिमका कुरा बेच्थे। खानेकुराका स्टलहरु, गाना बजाना, सब हेरियो!"

विधा नामाकरण

त्यही अनुभवका बारेमा उनले 'मेनाइ साँघुको मेला' नामक लेख लेखेर उनले नेपालमा छाप्न पठाए।

लेख पढेर उनका साथी बालकृष्ण पोखरेलले उनलाई फोन गरेछन्।

"तिमीले ता नयाँ विधाको आविष्कार गर्यौ तारा, भनेर उनले भने!" शर्मा सम्झन्छन्।

पोखरेलले त्यो विधालाई 'नियात्रा' नाम दिंदै भनेः यात्रा वर्णन तिमी गर्छौ, तर पाठकलाई पनि आफू सँगसँगै घुमाउँछौ।

यात्रा वर्णन मात्रै होइन निजात्मक अनुभूति समेत भएको लेखलाई त्यस समयदेखि नियात्रा भनिन्छ।

त्यसपछि शर्माले लेखेका 'बेलाइततिर बरालिँदा' र 'पाताल प्रवास' जस्ता कृति नियात्रा विधाका मानक मानिन्छन्।

झर्रोवाद

नियात्रा विधाको नामाकरण गर्ने उनका साथी बालकृष्ण पोखरेलसँगको सम्बन्धले सो नाम मात्रै होइन, नेपाली भाषा साहित्यमा अरु पनि महत्वपूर्ण कुराहरु जन्माएको थियो।

शर्मा बनारसमा स्नातक पढ्न जाँदा पोखरेल पनि त्यहीं पढिरहेका थिए, र उनीहरुका साथीहरुले भनेछन्: तारानाथ र बालकृष्ण दुवै भाषा जान्दछु भनेर घमण्ड गर्दछन्, यी दुई घमण्डीहरुलाई भेटाउँ र झगडा गरेको हेरौं!

तर भेट्ने बित्तिकै बालकृष्ण पोखरेलले उनको लेखाइको प्रशंसा गरेपछि उनी प्रभावित भइहाले, र शुद्ध लेख्नुपर्छ भन्ने कुरामा उनीहरु दुवैको कुरा पनि मिल्यो।

र, त्यसरी जन्मियो उनीहरुको झर्रोवादी आन्दोलन, जसअनुसार उनीहरुले नेपालको बोलीचालीको भाषालाई प्राथमिकता दिने र लेखाइमा ल्याउने अभियान थाले।

'भाषामा शुद्धता'

उनीहरु झर्रो भाषामा लेखहरु लेख्थे र पत्रिका समेत निकाल्थे।

"त्यसबेला नेपाली भाषामा अंग्रेजी र अन्य भाषाको प्रभाव थियो, विशेषगरी हिन्दीको," उनी सम्झन्छन्।

"अगर, मगर, चुँकी, बल्की जस्ता शब्दले नेपाली भाषा खत्तम पारेको थियो। त्यसकारण हामीले हरेक कुरामा नेपाली भाषालाई प्राथमिकता दिएका हौं।"

आज पनि नेपाली भाषामा अन्य भाषाको शुद्धता कायम राख्नुपर्छ भन्ने मान्दैनन् उनी, र भन्छन्, संस्कृतका भाषाविद् पाणिनीले बनाएका नियमअनुसार नेपाली भाषाको मानक बनाइनु पर्छ।

"झर्रोवाद भन्नु नै पाणिनीलाई पछ्याउनु हो। हामी अर्काको भाषा किन लेख्नु? हाम्रो आफ्नै भाषा छ यति उच्चकोटीको। त्यसैले हामी अरु भाषातर्फ नहेरौं, आफ्नै भाषा शुद्ध बोलौं र लेखौं," शर्मा भन्छन्।