‘फ्लिनमाथिको अनुसन्धान रोक्न एफबीआइलाई भनेको छैन’

  • 17 मे 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारमाथिको अनुसन्धान अन्त्य गर्न एफबीआइलाई उनले भनेको भन्ने आरोपहरुलाई लिएर विवादमा मुछिएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुमा त्यस्ता आरोपहरु आएपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ती विवरण सही नभएको भन्दै अस्वीकार गरेको छ।

खण्डन

राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र रुसबीचको सम्बन्धबारेको अनुसन्धान रोक्न संघीय जाँच निकाय एफबीआइलाई भनेको भन्ने विवरण अमेरिकी सञ्चारमाध्यममा आएका छन्।

गत फेब्रुअरीमा राष्ट्रपतिलाई भेटेपछि एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले लेखेको भनिएको एउटा मेमोका आधारमा ती विवरण प्रकाशमा आएको बताइएको छ।

ट्रम्पद्वारा गोप्य सूचना दिने निर्णयको बचाउ

रुसी सम्बन्ध

जेनरल फ्लिनसँग सम्बन्धित कुनै पनि अनुसन्धान रोक्न राष्ट्रपतिले नभनेको ह्वाइट हाउसले एउटा वक्तव्यमा जनाएको छ।

फ्लिनले रुसी राजदूतसँगको आफ्नो संवादबारे उपराष्ट्रपतिलाई गलत सूचना दिएको घटना प्रकाशमा आएपछि फ्लिनले गत फेब्रुअरीमा पदबाट राजीनामा दिएका थिए।

द न्यूयोर्क टाइम्सले सबैभन्दा पहिले छापेको पछिल्लो विवरण हिलरी क्लिन्टनको इमेल प्रकरणमा एफबीआइको अनुसन्धानलाई लिएर निर्देशक कोमीलाई हटाउने ट्रम्पको कदमको एक सातापछि आएको छ।

कोमीको बर्खास्तीले वासिङ्टनमा ठूलो हलचल ल्याइदिएको थियो र आलोचकहरुले अमेरिकी चुनावमा रुसको सम्भावित हस्तक्षेपबारेको अनुसन्धानलाई ट्रम्पले असर पार्न खोजेको आरोप लगाएका थिए।