पुटिनद्वारा ट्रम्पको समर्थन

  • 17 मे 2017
ट्रम्प तस्वीर कपीराइट AFP/GETTY

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत हप्ता ह्वाइट हाउसमा रुसी विदेश मन्त्रीसंगको भेटघाटमा गोप्य सूचना खुलाएका थिए कि थिएनन् भन्ने विवादमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलले हस्तक्षेप गरेका छन्।

कुनै गोप्य सूचना नदिइएको र आवश्यक परेमा त्यो भेटघाटको ट्रान्स्क्रिप्ट अमेरिकी संसदलाई उपलब्ध गराउने उनले बताएका छन्।

ट्रम्पमाथि सो भेटघाटमा गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाइएको छ ।

ट्रम्पले रुससंगको आफ्नो सम्बन्धका बारेमा जारी अनुसन्धान प्रभावित गर्न खोजेको खबरका माझ पुटिनले त्यसो भनेका हुन्।

ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई प्रभावित गर्न खोजेका थिए भन्ने आरोपलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ।

एकजना वरिष्ठ रिपब्लिकन सांसदले कोमी र ट्रम्पबीचका संवादका अभिलेखहरु उपलब्ध गराउन एफबीआइलाई आह्वान गरेका छन्।

खण्डन

ट्रम्पले गत बुधबार रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र राजदूत सर्गेइ किस्ल्याकलाई ह्वाइट हाउसमा भेटेका थिए।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा सम्भावित रुसी हस्तक्षेपका बारेमा एफबीआइको अनुसन्धान र संसदीय सुनुवाइ जारी रहेको समयमा त्यस्तो भेटघाट गरिएको थियो।

साथै ट्रम्पले जेम्स कोमीलाई बर्खास्त गरेको एक दिन पछि सो भेट भएको थियो।

आरोप

सोमबार वाशिंगटन पोष्ट लगायत विभिन्न सञ्चार माध्यमले ट्रम्पले रुसी अधिकारीहरुलाई आइएसका बारेमा जानकारी दिएको र त्यो जानकारीको स्रोत खतरामा हुनसक्ने खबर प्रकाशित गरेका थिए।

त्यो जानकारी अत्यन्त संवेदनशील मानिएको छ र अमेरिकी साझेदारले त्यो जानकारी अरु देशलाई बाँड्ने अनुमति नदिएको बताइएको छ।

ट्रम्पले त्यसपछि जानकारी बाँड्ने आफ्नो अधिकारको बचाउ गरेका थिए र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर मकमास्टरले राष्ट्रपतिको कदम पूर्णतया उपयुक्त भएको बताएका थिए।

महाभियोगको चर्चा

कैयौं अमेरिकी राजनीतिज्ञहरुले राष्ट्रपतिमाथि महाभियोग लगाउने सम्भावनाको उल्लेख गरेका छन्।

संसदमा डेमोक्रयाटहरुको बहुमत भएको भए त्यस्तो प्रस्ताव राखिने अवस्था भइसकेको बीबीसी संवाददाता एण्टनी जर्कर बताउँछन्।

तर संसद रिपब्लिकनहरुको नियन्त्रणमा छ र उनीहरुले ट्रम्पको साथ छोड्छन् भन्ने अपेक्षा गर्नु अतिशयोक्ति हुनेछ।