पूर्व एफबीआइ प्रमुखले ‘ट्रम्प-रुस सम्बन्ध’ छानविन गर्ने

  • 18 मे 2017
रोबर्ट मलर तस्वीर कपीराइट Reuters
Image caption मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए।

गत वर्षको राष्ट्रपतिय चुनावमा भएका भनिएका रुसी हस्तक्षेपबारे छानविन गर्न न्याय मन्त्रालयले संघीय जाँच ब्यूरो एफबीआइका पूर्व प्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्तामा नियुक्त गरेको जनाएको छ।

उपन्यायाधिवक्ता रड रोजेन्सटाइनले वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई उक्त जिम्मा दिनु सार्वजनिक हितमा रहेको बताएका छन्।

समर्थन

सो नियुक्तिलाई रिपब्लिकन तथा डेमोक्र्याट दुवै दलका नेताहरुले समर्थन गरेका छन्।

गत साता राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेसंगै त्यस्तो विशेष अभियोजनकर्ताको माग गरिएको थियो।

एफबीआइ तथा कंग्रेसले ट्रम्पको अभियान र रुसबीचको सम्भाव्य सांठगांठबारे अनुसन्धान गरिरहेका छन्।

मलरको नियुक्ति भएको घोषणा गरिएको एक घण्टा नवित्दै राष्ट्रपति ट्रम्पले अब उक्त छानविनले आफूलाई सफाइ मिल्ने भविष्यवाणी गरे।

प्रतिष्ठित

बीबीसीका वाशिंगटन सम्वाददाता एन्थोनी जर्चर भन्छन् त्यहाँ मलर निकै प्रतिष्ठित मानिन्छन्।

उनले विगतको जर्ज डब्लु बुश प्रशासनमा काम गर्दा कोमी उपन्यायाधिवक्ता थिए।

उनी त्यहाँको उतारचढावपूर्ण राजनीतिबारे जानकार छन्।

हुन त प्राविधिक रुपमा मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्न नियुक्त भएका हुन् जसको अन्तिम नेतृत्व भनेको राष्ट्रपति ट्रम्प नै हुन्।

तर जर्चर भन्छन् मलरको प्रतिष्ठा यस्तो छ कि यस्ता विषयले उनलाई आफ्नो ढंगले अनुसन्धान गर्न छेक्ने छैन।