संविधान संशोधनमा 'सहमतिको प्रयास'

  • 18 मे 2017
संसद

पछिल्लो समय नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण स्थगित हुँदै आएको संसद्को बैठक स्थानीय चुनावपछि पहिलोपटक बिहीबार बस्दैछ।

संसद् सचिवालयका अनुसार संविधान संशोधन विधेयकमाथि छलफल र बजेट कार्यसूचीमा छन्।

प्रधानन्यायाधीशविरुद्धको महाभियोगलाई लिएर यसअघि बैठकमा अवरोध पुर्याएको एमालेका प्रमुख सचेतकले द्रुत गतिमा संशोधन विधेयकलाई अगाडि बढाउन खोजिए आफूहरुले सहयोग नगर्ने बताएका छन्।

सत्तापक्षीय तयारी

बिहीबार बस्ने संसदको बैठक मुख्यगरी संविधान संशोधन विधेयकलाई पारित गराउने विषयमा केन्द्रित हुने सत्ताधारी दलका नेताहरुले बताएका छन्।

'तराई केन्द्रित दललाई मनाउने प्रयास जारी'

त्यसको लागि प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनता पार्टीसँग बुधवार दुई पक्षीय र बहुपक्षीय छलफल गरिएको शिक्षामन्त्री धनीराम पौडेलले बताए।

उनले भने, "चुनाव गर्नका लागि एउटा प्रक्रियामा अगाडि जाऔं। पारित हुने वा नहुने स्थितिको बारेमा अहिले नै भन्न सम्भव हुँदैन। उहाँहरु (प्रतिपक्षी)ले त्यो सदाशयता राख्नुभयो भने प्रक्रिया अगाडि बढ्ने र दोस्रो चरणको चुनाव पनि हुने स्थिति बन्छ"।

सत्तापक्षीय दलहरुले खासगरी दोस्रो चरणको निर्वाचनमा भाग लिने संकेत गरिरहेको राष्ट्रिय जनता पार्टीको माग पूरा गरेर निर्वाचनमा सहज वातावरण खोजिरहेको देखिएको छ।

प्रक्रिया

संशोधन विधेयकसहित यही जेठ १५ गते हुने बजेट अधिवेशनको विषय पनि बिहीबारको कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ।

तर प्रक्रियाअनुसार काम भएमात्र आफूहरु लचक हुन सक्ने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताएका छन्।

उनले भने, "५० वटा संशोधन प्रस्ताव परेपछि त्यसको उपयुक्त विधि भनेको विशेष समिति बनाउने र त्यो समितिमा छलफल गरेर एउटा राय बनाउने हो। त्यसमा हामी लचक छौं। तर यसै ह्वात्तै ल्याएर बहुमत पुर्याएर पारित होला भन्ने सम्भावना म देख्दिन"।

संसदको चालू अधिवेशन समाप्त गरेर बजेट अधिवेशन शुरु गर्ने समय आइसकेको अवस्थामा सत्तापक्षले सहमतिको मध्यमार्ग खोजिरहेको बताएको छ।

तर त्यो मध्यमार्गी विकल्प के हुन्छ भन्नेबारे प्रष्ट भइसकेको छैन र त्यसमा प्रमुख प्रतिपक्षी राजी नभएसम्म राजनीतिक गाँठो फुक्ने संकेत देखिदैंन।