रेडियोकी प्रथम गायिका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रेडियोकी प्रथम गायिका

  • 1 जुन 2017

नेपालमा रेडियोमा गीत गाउने प्रथम महिला रानुदेवी अधिकारी ८१ वर्षको उमेरमा पनि संगीतमा रमाइरहेकी छिन्।

१६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट रानुदेवी कोइरालाले गीत गाइन्।

नेपाली नेपाली …

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली …

हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई

सब मिली उद्धार गरौं हाम्रो नेपाललाई

पछि नसरौं अबदेखि दुःख परे पनि

पछि नसरौं अबदेखि दुःख परे पनि

नेपाली

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली …

जुन गीत नेपाली कांग्रेसको प्रचार प्रसारको नारा सरह बनेर पछि प्रतिबन्धित पनि भएको थियो।

२००७ सालमा नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले त्यो गीत गाएकी थिइन्।

पहिलोपटक गीत गाउँदा निकै रमाइलो लागेको उनी बताउँछिन्।

"केटाकेटी पनि थिएँ, चाहना पनि त्यही थियो। त्यसले गर्दा मलाई रमाइलो लाग्यो!"

प्रत्यक्ष प्रसारण

रेडियो नेपाल स्थापना हुनु अघिको त्यो रेडियोको स्वरुप पनि उनी सम्झिन्छिनः "एउटा सानो कोठा थियो। उपकरणहरु खास केही थिएनन्।

जो गाउनु पर्ने हो वा समाचार सुनाउनु पर्ने हो उ एक्लै भित्र गएर आफ्नो काम गर्थ्यो।"

त्यस समयमा उनले गाउने गीतहरु प्रत्यक्ष प्रसारण गरिन्थे, र गीतलाई साथ दिने बाजाहरु पनि प्रत्यक्ष नै बजाइन्थे।

प्रतिबन्धित

सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाह गरेर कोइराला परिवारसंग जोडिन पुगेकी थिइन्।

तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए।

आफ्नो गीतको प्रतिकृया भने निकै ढिलो मात्रै पाएको उनी बताउँछिन्।

"राणा शासनको समयमा क्रान्तिकारी गीत गाउने मान्छेलाई कसैले केही भन्छ?" उनी भन्छिन्।

"त्यो डरले पनि कसैले केही भन्दैनन्। पछि मात्रै मैले सुनें, राम्रो गीत गाएँछु भनेर।"

निडर

तर आफूलाई भने जोखिमयुक्त काम गर्दैछु भन्ने नै नलागेको उनी बताउँछिन्।

"गीतका शब्द र संगीत पनि तारिणीप्रसाद कोइरालाका थिए," उनी भन्छिन।

"र वहाँले मलाई यसरी प्रोत्साहन दिनुभयो कि मैले मजाले गाएँ।"

अहिले बरु उनलाई पत्रकारहरुले सोध्दा रहेछन् त्यस्तो बेलामा १६ वर्षको उमेरमा कसरी त्यस्तो गीत गाइन् भनेर।

"त्यतिबेला त मलाई त्यस्तो केही लागेन, केटाकेटी नै थिएँ। दिनरात ती गीतहरु गाउँथें रेडियोमा।

गाउञ्जेल केही घटना भएन, त्यसपछि त प्रजातन्त्र आइहाल्यो नि!"

रेकर्डिङ

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो।

केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन्।

त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए।

दिनरात रेडियोमा गाउने गरेको त्यो गीत उनी अझै सम्झिन्छिन्।

आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस्

लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्

खडा भयो जनतन्त्र फौज लौ आउ आउ नेपाली

मातृभूमिले मुक्तकण्ठले डाक्छिन् आउ गोर्खाली

जहाँ जहाँ छौ दौडी आउ तिम्रो मात्र सहारा होस्

लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्

त्यसपछि शुरु भएको पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित समेत गरिएका थिए।

र अधिकारीको आफ्नै जीवनमा पनि संगीतको उपस्थिति घट्दै गएको थियो।

जिम्मेवारी

संगीतलाई अघि बढाउने इच्छाले उनी बनारस गइन् र म्याट्रिक र आइएमा शास्त्रीय संगीतको अध्ययन गरिन्।

तर घरपरिवारका जिम्मेवारीका कारण संगीतमा स्नातक गर्न नपाएकोमा उनको दुःखेसो छ।

उनको वासस्थान विराटनगरमा शास्त्रीय संगीत सिक्ने सिकाउने र सुन्ने वातावरण नहुनाले पनि संगीतको साथ छुटेको रहेछ।

"संगीत अघि बढाउन मन त थियो," उनी भन्छिन्।

"तर बिराटनगरमा एउटा तबला बजाउने मान्छे पनि थिएनन् शास्त्रीय संगीतलाई साथ दिनलाई!"

कुनै क्षेत्रमा अघि बढ्नका लागि उनी विवाह नगर्ने सल्लाह दिन्छिन् युवा पुस्तालाईः "मेरो परिवार स्वतन्त्र विचारको थियो, मलाई सबैकुरामा परिवारको साथ थियो।

नभएको भए त म यति प्रगति पनि गर्न सक्दिनथें होला। तर बच्चा बच्ची भएपछि मेरो पनि एउटा जिम्मेवारी हुन्छ। बन्धन भएपछि कहाँ जान पाइयो र?"

अहिले पनि सम्झिँदा खेरी यो क्षेत्रमा अघि बढ्नुथियो भने विवाह नगरेको भए हुन्थ्यो जस्तो लाग्दो रहेछ उनलाई।

संगीतमा आनन्द

त्यसपछि उनी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय रहिन्।

तर अहिले भने जीवनको उत्तरार्द्धमा उनी संगीतमै आनन्द पाउँछिन्।

"आफूलाई त चच्छा त लाग्छ नि। गाना भनेको त छुट्दैन नि," उनी भन्छिन्।

"बुढेसकालमा खासै केही काम पनि छैन। मेरो सहारा भनेको नै संगीत हो।

एउटा भजन भए पनि गाउँछु। म बसेर गुनगुनाइरहन्छु एक्लै आनन्दले!"