रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई

  • 19 मे 2017
रंगशाला
Image caption भूकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला दुई वर्षदेखि पुनर्निर्माणको पर्खाइमा छ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

दुई वर्षपछि नेपालले आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि नियमित प्रक्रियामा रंगशाला पूनर्निर्माण कार्य गरे ढिलो हुने देखिएकोले द्रुत गतीमा निर्माण कार्य गर्न सेनालाई जिम्मा दिन लागिएको खेलकुद मन्त्री दलजित श्रीपाइलीले बताए।

सो को निर्णय मन्त्रिपरिषद्बाट गरिने उनले बीबीसीलाई बताए।

उनले भने, "राष्ट्रिय खेलकुद परिषद्ले सेनासंगको कागजी प्रकृया टुंग्याउनेछ। त्यसपछि हामी सो प्रस्तावलाई मन्त्रिपरिषदमा लैजान्छौं र औपचारिक रुपमा सेनालाई जिम्मा दिन्छौं।"

नेपाली सेनाको प्राविधिक टोलीले पनि रंगशालाको क्षतिको अवस्थाबारे अध्ययन गरिरहेको बताइएको छ।

शर्त

खेलकुद मन्त्रालय र नेपाली सेनाका अधिकारीबीच यसबारे धेरै पटक छलफल भइसकेको बताइएको छ।

तर सेनाले काम गर्नु अगाडि मन्त्रिपरिषद्को निर्णय चाहेकोले त्यसतर्फ मन्त्रालयको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता राम थपलियाले बताए।

उनले भने, "गुणात्मक रुपमा काम गर्न र समयमा नै काम पूरा गर्नका निम्ति सेनालाई जिम्मा दिन खोजिएको हो। सेनाले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि मात्र काम गर्न चाहेकोले त्यसको तयारी भइरहेको छ। चाँडै नै यो प्रक्रिया टुंगिनेछ।"

दुई वर्ष अगाडि गएको महाभूकम्पमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको अधिकांश भागमा क्षति पुगेको थियो।

Image caption दशरथ रंगशालाको अधिकांश भाग मर्मत गर्नुपर्ने विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय खेलकुद परिषदले दुई वर्षका बिच रंगशालाको क्षतिको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र रंगशाला भत्काउनका निम्ति बोलपत्र आह्वान पनि गरिसकेको जनाएको छ।

स्थगन

तर खेलकुद मन्त्रालयले द्रुत गतिमा काम गर्नका निम्ति सेनालाई पूनर्निर्माणको जिम्मा दिन निर्देशन दिएपछि काम स्थगन गरिएको परिषदका अधिकारीले बताएका छन्।

खेलकुद परिषदका एक सदस्य गंगा थापाले भने, " हामीले टेण्डर आह्वान गरिसकेका थियौं। तर मन्त्रालयबाट सेनालाई दिने कुरा आएपछि टेण्डरको म्याद वढाइएको छ। सेनाले जिम्मा पाएपछि हामीले त्यो प्रकृया रद्ध गर्नेछौं।"

मन्त्रिपरिषद्ले हालै मात्र काठमान्डू-निजगढको चर्चित फास्ट ट्रयाकको जिम्मा पनि नेपाली सेनालाई दिएको थियो।

रंगशालाको निर्माणको प्रक्रियागत अनुरोध आए त्यसलाई पुरा गर्न तयार रहेको सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बताए।

तयार

उनले भने, "प्रकृयाको कुरा भइरहेको छ। त्यो मन्त्रालयले गरिरहेको होला। मन्त्रालय भनेपछि नेपाल सरकार हो र सरकारबाट जिम्मेवारी दियो भने नेपाली सेना त्यो पुरा गर्न तयार छ।"

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन स्थल दशरथ रंगशालाको पुनर्निर्माण सन् २०१९ को मार्च महिनासम्ममा सम्पन्न गरिसक्ने सरकारको तयारी छ।

सरकारले चालू आर्थिक वर्षमा रंगशाला भत्काउनका लागि मात्र २ करोडको बजेट छुट्याएको थियो।

पुनर्निर्माणको सम्पूर्ण काम पूरा गर्न भने ५० देखि ६० करोड रुपियाँसम्म खर्च हुने अनुमान गरिएको छ।