‘इरानी राष्ट्रपति रुहानी जित नजिक’

  • 20 मे 2017
मतगणना तस्वीर कपीराइट Reuters

इरानका राष्ट्रपति हसन रुहानीले अर्को कार्यकालका लागि निरन्तरता पाउने मतगणनाको प्रारम्भिक नतिजाबाट देखिएको छ।

सरकारी टेलिभिजनका अनुसार दुई करोड ६० लाख मतगणना भइसक्दा रुहानीले एक करोड ४६ लाख अर्थात आधाभन्दा बढी मत प्राप्त गरेका छन्।

रुहानीका प्रमुख प्रतिद्वन्द्वीले मतदानमा अनियमितता भएको भन्दै उजुरी दिएका छन्।

इब्राहिम रइसीले मतदान केन्द्रहरुमा रुहानीका सयौं समर्थकहरुले चुनावी कानुनविरोधी प्रचारबाजी गरेको आरोप लगाएका छन्।

अप्रत्याशित

मतदान गर्ने समय बढाएर मध्यरातसम्म पारिएको थियो र अप्रत्याशित रुपमा भारी मत खसेको थियो।

आन्तरिक मामिलामन्त्रीका अनुसार चार करोड मत खसेको थियो।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार "मानिसहरुको उत्साहपूर्ण सहभागिता" र "आग्रह"का कारण मतदान गर्ने समय बढाइएको थियो।

चुनावी प्रचारप्रसारका क्रममा रुहानीले इरानलाई दूरदृष्टि र मध्यमार्गी विचारधारा अनुसार लैजाने प्रतिबद्धता जनाएका थिए।

सुधारवादी

आफ्नो कार्यकालमा दुई वर्षअघि अमेरिकासँग पारमाणविक कार्यक्रमबारे भएको सहमतिलाई आफ्नो सफलताको रुपमा उनले पेश गरेका थिए।

६८ वर्षीय रुहानी एकजना सुधारवादी तथा मध्यमार्गी नेताका रुपमा चिनिन्छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहमतिको विपक्षमा आफूलाई उभ्याउँदै आएका छन्।

यद्यपि यसै साताको शुरुतिर ह्वाइट हाउसले इरानसँगको सहमतिलाई नवीकरण गरेको थियो।