‘कामचलाउ बजेट सानो आकारको हुने’

  • 20 मे 2017
बजेट

जेठ १५ गते ल्याउने कामचलाउ बजेट पूर्ण बजेटको अंश मात्र हुने र त्यो पछि ल्याइने नयाँ बजेटको करिब १० भागको एक भागसम्मको हुने एकजना मन्त्रीले बताएका छन्।

साथै काम चलाउ बजेट घोषणा गर्नुअघि राष्ट्रिपतिले नियमित बजेट ल्याउँदाझैँ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको ती मन्त्रीले बताए।

संविधानमा भएको बाध्यकारी नियम अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउन लागेको हो।

तर निर्वाचन आचारसंहिता अनुसार सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने भएकोले सरकारले जेठ १५ गते ल्याउने भनिएको बजेट दैनिक प्रशासनिक खर्च धान्ने खालको मात्र आउने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।

पुँजीगत खर्च

काम चलाउ बजेटमा नयाँ ठूला र दीर्घकालीन महत्वका परियोजनाहरु समावेश नहुने सरकारले प्रष्ट पार्दै आएको छ।

उनले भने, "पूर्ण बजेटलाई मुख्य आर्थिक दिशा यसैले (कामचलाउ बजेट) दिन्छ। अहिले तत्कालका समस्याहरु टार्नका लागि ल्याउने भएकाले यसको कत्रो आकारको हुन्छ भनी अहिल्यै भन्न सकिन्न। कुल बजेटको १० भागको एक भाग जत्रो हुन सक्छ।''

उनका अनुसार कामचलाउ बजेटमा स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि बनेका नयाँ बनेका स्थानीय संरचना सञ्चालन गर्नका लागि बजेट छुट्याइनेछ।

जेठ १५ गते आउने बजेटमा पुँजीगत खर्च कम हुने पनि बताइएको छ।

यसमा पहिलेदेखि नै चल्दै आएका विकास कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री कार्कीले बताए।

कामचलाउ भनिएपनि जेठ १५ गते बजेट सार्वजनिक गर्नुअघि संसद्‍मा सामान्य छलफल हुने जस्ता अन्य प्रक्रिया पुर्याएरै बजेट ल्याउने योजना सरकारको रहेको मन्त्री कार्कीले बताए।

अभिमुखीकरण

साथै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गरिने पनि उनले बताए।

कार्कीले भने, "राजनीतिक अभिमुखीकरण भएन भने बजेट कसरी आउँछ र त्यसैले नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ र यसले एक खालको राजनीतिक आर्थिक दिशा प्रदान गर्नेछ।''

साथै पूर्ण बजेटअघि अर्को एउटा दस्तावेज आउन सक्ने पनि उनले बताए।

जेठ १५ गते आउने बजेटमा पुँजीगत खर्च कम हुने भनिएपनि भूकम्पपछिको पुनर्निर्माणका लागि के कति रकम छुट्याइने हो त्यो प्रष्ट भएको छैन।

तर मन्त्री कार्की भन्छन्, पहिलेदेखिनै चल्दै आएका विकास कार्यक्रम रोकिंदैन।

उनका अनुसार ठूला र दीर्घकालीन महत्वका योजना भने पूर्ण बजेटमा मात्रै ल्याइने छ।

पूर्ण बजेट असार महिनामा ल्याउने भनिएको छ।