राष्ट्रपति ट्रम्प साउदी अरेबियाको भ्रमणमा

  • 20 मे 2017
स्वागत तस्वीर कपीराइट SAUDI PRESS AGENCY HANDOUT

साउदी अरेबियाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शनिबार रियाद पुगेका छन्।

साउदी राजा सलमानले स्थानीय समय अनुसार शनिबार बिहान ट्रम्प दम्पतिलाई राजधानी रियादस्थित विमानस्थलमा स्वागत गरेका थिए।

राजा सलमानले एउटा विशेष समारोहमाझ ट्रम्पलाई साउदी अधिराज्यको सर्वोच्च नागरिक सम्मान प्रदान गरेका थिए।

आइतबार रियादमा ४० भन्दा बढी मुस्लिम देशका नेताहरुको सहभागिता रहने एउटा सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ।

अपेक्षा

सो सम्मेलनमा अतिवादी समूहहरुविरुद्ध लड्ने देशको बाहुल्यता रहने साउदी अरेबियाले अपेक्षा गरेको छ।

तस्वीर कपीराइट EPA

ट्रम्पले साउदी भ्रमणका क्रममा अर्बौं डलर बराबरको व्यापार सम्झौताहरु पनि टुंगो लगाउने अपेक्षा गरेका छन्।

अमेरिकाको जेनरल इलेक्ट्रिक समूहले यसअघि नै १५ अर्ब डलर बराबरको सम्झौताको घोषणा गरिसकेको छ।

ट्रम्पको चुनावी अभियान र रुसबीच भनिएको सम्बन्धबारे भइरहेको अनुसन्धानले उनको साउदी अरेबियाको भ्रमण छायाँमा परेको छ।

प्रतिनिधिमण्डल

आठ दिने विदेश भ्रमणका क्रममा ट्रम्प इजरेल, प्यालेस्टिनी भूभाग, ब्रसल्स, दि भेटिकन र सिसिली पनि पुग्नेछन्।

केन्द्रीय अनुसन्धान निकाय एफबीआइका निर्देशकलाई बर्खास्त गरेकोमा देशभित्र विरोध भइरहेका बेला ट्रम्प विदेश भ्रमणमा निस्केका हुन्।

ट्रम्पसँग भ्रमण दलमा उनकी छोरी इभान्का, इभान्काका श्रीमान् र मन्त्रिपरिषद्का महत्वपूर्ण सदस्यहरु छन्।

यसअघि ब्रिटिश प्रधानमन्त्री टरिजा मे र जर्मन चान्सलर एंगेला मर्केलले साउदी अरेबियाको भ्रमणका क्रममा टाउको छोप्ने स्कार्फ नलगाएझैं ट्रम्पकी श्रीमती र छोरीले स्कार्फ लगाएनन्।