विद्यालयमा भर्ना हुन खोप अनिवार्यःइटली

  • 20 मे 2017
खोप तस्वीर कपीराइट AFP

इटलीको सरकारले सार्वजनिक विद्यालयमा भर्ना हुनका निम्ति बालबालिकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने निर्देशन दिएको छ।

अधिकारीहरुका अनुसार सरकारी विद्यालयमा बच्चाहरु भर्ना हुनका लागि १२ प्रकारका सरुवा रोगविरुद्धका खोप लगाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री पावलो जेन्टिलोनीले "वैज्ञानिक सिद्धान्तविरोधी अफवाहका कारण" खोप लगाउने प्रवृत्तिमा कमी आएको बताएका छन्।

सन् २०१६ को तुलनामा इटलीमा यो वर्ष अहिलेसम्म दादुराको समस्या तीन गुणाले बढेको पाइएको छ।

जरिवाना

इटलीमा विद्यालयमा भर्ना हुने ६ वर्षको उमेरसम्म बालबालिकाले खोप नलगाएको पाइएमा उनीहरुका अभिभावकले जरिवाना तिर्नुपर्ने हुन्छ।

स्वास्थ्यमा असर पर्ने भन्दै विश्वभर केही खोपविरुद्ध गलत अफवाह फैलाइएका कारण कतिपय आमाबाबुले खोप नलगाउने गरेको बताइन्छ।

इटलीमा दादुराविरुद्धको खोप लगाउने दुई वर्षका बालबालिकाको संख्या ९० प्रतिशतबाट ८० प्रतिशतभन्दा कममा झरेको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ९० प्रतिशत वा सो भन्दा बढी बालबालिकाले उक्त खोप लगाउनुपर्दछ।

अफवाह

दादुरा सर्ने सम्भावना निकै उच्च हुन्छ र त्यसका कारण ज्यान पनि जान सक्छ।

शुक्रबार आयोजित एउटा पत्रकार सम्मेलनमा प्रधानमन्त्री जेन्टिलोनीले भने, "वर्षौंयता उपयुक्त कदम नचालिंदा र खासगरी पछिल्ला महिनाहरुमा वैज्ञानिक सिद्धान्तविरोधी अफवाहका कारण बचाउमा कमी आएको छ।"

पोलियो, टिटानस, मेनेन्जाइटिस बी, मेनेन्जाइटिस सी, हेपाटाइटिस बी, रुबेला आदि विरुद्धका खोप लगाउन अनिवार्य गरिएको छ।

स्वास्थ्यमन्त्री बेट्रिचे लोरेन्त्सिनले भने, "हामीले नागरिकहरुलाई निकै सशक्त सन्देश दिइरहेका छौँ।"