'धाँधली' भएको भन्दै छानबिन गर्न माग

  • 20 मे 2017
एमाले तस्वीर कपीराइट cpn uml's website

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पहिलो चरणको स्थानीय चुनावमा धाँधली भएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गरेको छ।

शनिबार बसेको पार्टी स्थायी समिति बैठकले सरकार र सरकारमा रहेका दलहरुले त्यस्तो धाँधली गरेको निष्कर्ष निकालेको नेताहरुले बताएका छन्।

सरकारका प्रवक्ताले एमालेको त्यस्तो मागलाई प्रतिपक्षले धर्म पालना गरेको रुपमा आफूहरुले लिएको बताएका छन्।

पहिलो चरणको स्थानीय निर्वाचनको पूर्ण नतिजा आइसकेको छैन।

अनियमितता

कतिपय स्थानीय तहको मतगणना जारी रहेको छ भने केही मतदान केन्द्रहरुमा पुनः मतदान गर्न बाँकी नै छ।

हालसम्मको परिणाम अनुसार एमाले पहिलो स्थानका देखिएको छ।

उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।

निर्वाचनको परिणामका समीक्षा गर्न शनिबार बसेको सो पार्टीको स्थायी समितिको बैठकले भने सरकार र सरकारमा रहेका दलहरुमाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ।

संगठित

निर्णयको एमाले सचिव प्रदिप ज्ञवालीले भने, "दोलखा, सिन्धुपाल्चोक, हुम्ला, कालिकोट लगायत कतिपय जिल्लामा भएका हिंसा र अनियमितताका घटना र सरकारबाट भएको संगठित हिंसा र धाँधलीका घटनाबारे संसदीय समिति गठन गर्नुपर्ने माग गर्ने निर्णय गरेका छौँ। त्यो विषयलाई हामी संसद्‍मा उठाउँछौँ।"

आफ्नो यस्तो माग निर्वाचन र निर्वाचन प्रणालीलाई सुधार्नका लागि भएको एमालेको तर्क छ।

प्रधानमन्त्री र निर्वाचन आयोगलाई समेत यसबारे जानकारी गराइसकिएको एमाले नेताहरुले बताएका छन्।

विभिन्न जिल्लामा भएका भनिएका धाँधलीका त्यस्ता घटनाहरु आफूहरुसँग प्रमाण समेत रहेको दावी नेता ज्ञवालीले गरे।

उनले भने, "सत्तामा रहेका पहिलो र तेस्रो पार्टीले गठबन्धन गरे र गठबन्धनबाट पनि अपेक्षित परिणाम आउन नसक्ने भएपछि संगठित ढंगले हिंसाका घटना गराए। हामीसँग त्यसका यथेष्ठ प्रमाणहरु छन्, जुन राज्यशक्तिको दुरुपयोग हो। त्यसैले हामीले छानबिनको माग उठाएका हौँ।"

परस्परविरोधी

सरकारले भने पहिलो चरणको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै आएको छ।

प्रमुख प्रतिपक्षीको संसदीय छानबिनको मागलाई सरकारका अधिकारीहरुले प्रतिपक्षको धर्मको रुपमा अर्थ्याएका छन्।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने, "एकातिर जित्यौँ भनेर गौरव पनि गरिरहनुभएको छ भने अर्को तिर धाँधली भयो भनिरहनुभएको छ। जुन आफैँमा परस्परविरोधी छ। त्यस्तो माग उहाँहरुले प्रतिपक्षको धर्म मात्रै पालना गरेको देखिन्छ।"

यद्यपि निर्वाचनको परिणाममा भने एमालेले असन्तुष्टि जनाएको छ।

अझै पनि धेरै स्थानीय तह जित्ने सम्भावना रहेको भएपनि कतिपय ठाँउमा पार्टीकै आन्तरिक कमजोरी भएको उसको निष्कर्ष छ।