इस्लामबारे भाषण दिने ट्रम्पको तयारी

  • 21 मे 2017
सम्मान तस्वीर कपीराइट Reuters

साउदी अरेबियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ४० भन्दा बढी मुस्लिम राष्ट्रका नेताहरुको सम्मेलनमा इस्लामबारे भाषण दिन लागेका छन्।

रियादमा अरब इस्लामिक सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले धार्मिक अतिवाद र असहिष्णु विचारधारासँग जुध्ने साझा प्रयासमाथि जोड दिने अपेक्षा गरिएको छ।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा साउदी अरेबिया पुगेका ट्रम्पले दोस्रो दिन क्षेत्रीय नेताहरुको उक्त सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन्।

तथाकथित इस्लामिक स्टेट समूहविरुद्धको लडाइँलाई थप सशक्त बनाउनका निम्ति समर्थन जुटाउन पनि उनले प्रयत्न गर्न सक्छन्।

जोखिमयुक्त

बीबीसीका सुरक्षा संवाददाता भन्छन्, ट्रम्प जोखिमयुक्त भूभागमा छन् र उनको भाषणको शैली र विषयवस्तुमा धेरै कुरा निर्भर गर्न सक्छ।

सिएनएनको एउटा रिपोर्ट अनुसार ट्रम्पले उनै स्टेफेन मिलरले इस्लामबारे लेखेको भाषण दिन लागेका छन्, जसले मुस्लिम बहुल मुलुकका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयको पाठ तयार पारेका थिए।

ट्रम्पले गरे साउदी अरेबियासंग खर्बौंको सम्झौता

खासगरी सातवटा मुस्लिम बहुल मुलुकका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको प्रयासले इस्लामिक जगतमा व्यापक आक्रोश निम्त्याएको छ।

तस्वीर कपीराइट EPA

आफ्नो भ्रमणको दोस्रो दिन ट्रम्पले अरब नेताहरुसँग रियादमा छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।

प्रभाव

सो क्रममा उनले इजिप्टका राष्ट्रपति र बहराइनका राजासँग पनि भेटवार्ता गरेका छन्।

यसअघि अमेरिकाले शनिबार साउदी अरेबियासँग ३५० अर्ब डलर बराबरको हतियार सम्झौता गरेको थियो।

हतियारसम्बन्धी उक्त सम्झौता अमेरिकी इतिहासमै सबभन्दा ठूलो भएको बताइएको छ।

विदेशमन्त्री रेक्स टिलर्शनले इरान र साउदी अरेबियाका क्षेत्रीय प्रतिद्वन्द्वी मुलुकहरुको "खतरनाक" प्रभावसँग जुध्ने उद्देश्यका साथ सो हतियार सम्झौता गरिएको बताएका छन्।