उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण

  • 21 मे 2017
नेता तस्वीर कपीराइट Reuters
Image caption फाइल तस्वीर

उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

स्थानीय समय अनुसार आइतबार अपरान्ह उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ।

यसअघि उत्तर कोरियाले प्रक्षेपण गरेका तीनवटा क्षेप्यास्त्रहरुको तुलनामा यो कम दूरीमा मार हान्ने क्षमताको भएको ह्वाइट हाउसले जनाएको छ।

उत्तर कोरियाले ठूलो युद्धशीर्ष बोक्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताएको एक हप्तापछि अर्को परीक्षण गरेको हो।

टाढासम्म

गत सोमबारमात्रै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्योङयाङलाई थप क्षेप्यास्त्र परीक्षणहरु नगर्न भनेको थियो।

सुरक्षा परिषद्ले "ठोस कदममार्फत परमाणु अस्त्ररहित हुने इमानदार प्रतिबद्धता" उत्तर कोरियाले तत्काल देखाउनुपर्नेमा जोड दिएको थियो।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफको कार्यालयलाई उद्धृत गर्दै त्यहाँको समाचार संस्था योन्हापले जनाए अनुसार आइतबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र ५०० किलोमिटर टाढासम्म पुगेको थियो।

तस्वीर कपीराइट AFP
Image caption फाइल तस्वीर

गत हप्ता परीक्षण गरिएको क्षेप्यास्त्रले चाहिँ ७०० किलोमिटरसम्मको दूरी तय गरेको थियो।

उत्तर कोरियाले पारमाणिक अस्त्र र तिनलाई बोक्न सक्ने क्षेप्यास्त्रको पनि विकास गरिरहेको बताइन्छ।

आपतकालीन

उसले हालसम्म पाँचवटा पारमाणविक परीक्षण गरिसकेको छ।

दुवै कदम संयुक्त राष्ट्रसंघको प्रतिबन्ध विपरीत हुन्।

यसअघि आइतबार नै उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यमले "अमेरिकासम्म मार हान्न सक्ने अस्त्रहरु" को थप परीक्षण जारी राखिने बताएको थियो।

योन्हापका अनुसार उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन्।

बीबीसी संवादाता स्टिभ इभान्सका अनुसार उत्तर कोरियाले यस वर्ष परीक्षण गरेको देखिएको यो दशौं क्षेप्यास्त्र हो।