‘बजेट अधिवेशनमा अन्य विषय कार्यसूचीमा छैन’

  • 22 मे 2017
संसद

सरकारको नीति तथा कार्यक्रम घोषणा र कामचलाउ बजेट ल्याउनका लागि सोमबार देखि बजेट अधिवेशन शुरु हुने संसद सचिवालय जनाएको छ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक वाध्यताका कारण संसद अधिवेशन आह्वान गरिएकाले दोस्रो चरणको निर्वाचन अघि अन्य कुनै कार्यक्रमहरु संसदको सूचीमा रहने सम्भावना नरहेको सभामुख ओनसरी घर्तीले बताएकी छन्।

कार्यतालिका अनुमोदन

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुले बजेट अधिवेशनको कार्यतालिका अनुमोदन गरेका छन्।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाका कारण त्यस अघि गरिनुपर्ने छलफललाई ध्यानमा राखि बजेट अधिवेशन शुरु गर्न लागिएको हो।

पूर्व बजेट छलफल र नीति तथा कार्यक्रमलाई नियमित प्रकृया भन्दा छोट्याइएको सभामुख ओनसरी घर्तीले बताइन्।

उनका अनुसार निर्वाचन अघि सरकारको प्राथमिकता बजेटमात्रै रहेकोले अन्य विषयमा प्रवेश गर्ने कार्यसूची छैन।

उनले भनिन्, "बजेटमा केन्द्रीत भएको हुनाले अरु विधेयकको बारेमा अहिले छलफल गरिएको छैन। पूर्व बजेट छलफल तीन दिन गर्ने गरिन्थ्यो तर अहिले त्यसलाई एक दिनमा झारेका छौं। नीति तथा कार्यक्रमको छलफललाई पनि तीन दिनमा खुम्च्याएका छौं। यसरी समयको चापलाई ध्यानमा राखेर असाध्यै छोटो बाटोवाट कार्यतालिकाको निर्माण गरिएको छ।"

संसदको कार्यसूची अनुसार मंगलबार पूर्व बजेट छलफल हुने र ११ गते विहिबार राष्ट्रिपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसपछिका दुई दिन १२ र १३ गते नीति तथा कार्यक्रममा छलफल हुने बताइएको छ।

चेतावनी

सरकारले प्रतीपक्षी दलसँग भएको सहमति भन्दा वेग्लै किसिमको नीति तथा कार्यक्रम वा बजेट ल्याएमा वा अन्य विषयमा प्रवेश गरेमा संसदमा अवरोध गरिने प्रतिपक्षी नेकपा एमालेले चेतावनी दिएको छ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, "नीति कार्यक्रमकै सेरोफेरोमा बजेट आउने हो। हामीसँगको सहमतिभन्दा पृथक ढंगले सरकार अगाडी बढ्न खोज्यो भने हाम्रो अवरोधलाई सरकारले सामना गर्नुपर्छ।"

दोश्रो चरणको चुनाव बाँकी रहेकाले निर्वाचन आयोगले पनि लोकरिझाइंका कार्यक्रम बजेटमा नल्याउन सरकारलाई सतर्क गराइसकेको छ।

चुनाव र सत्ता परिवर्तनका कसरतमाझ पूरक बजेटको पनि सँगसँगै तयारी भइरहेको बताइन्छ।