राष्ट्रपति डोनाल्ड ट्रम्प इजरेलको भ्रमणमा

  • 22 मे 2017
ट्रम्प तस्वीर कपीराइट Getty Images

मध्यपूर्वको भ्रमणलाई निरन्तरता दिने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल र प्यालेस्टाइनको भ्रमण गर्दैछन्।

साउदी अरेबियामा अरब र मुसलमान नेताहरुलाई सम्बोधन गरेका राष्ट्रपति ट्रम्प त्यहाँबाट ती दुई देश जान लागेका हुन्।

एक दिने उक्त भ्रमणका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग सोमबार जेरुसलेममा र प्यालेस्टीनी नेता महमुद अब्बाससँग मंगलबार बेथलेहममा मंगलबार भेटवार्ता गर्नेछन्।

जोड

राष्ट्रपति ट्रम्पले इजरेल र प्यालेस्टाइनबीच शान्ति सम्झौतामा जोड दिएका छन् तर त्यसको स्वरुप कस्तो हुनुपर्छ भन्नेमा उनी अस्पष्ट नै देखिन्छन्।

उनले उक्त विषय दुवै पक्ष बसेर प्रत्यक्ष संवादमार्फत निर्णय लिनुपर्ने पक्षमा आफू रहेको बताउने गरेका छन्।

यसअघि आइतबार रियादमा भएको एउटा शीर्ष तहको सम्मेलनमा राष्ट्रपति ट्रम्पले अरब र मुसलमान नेताहरुलाई इस्लामवादी उग्रवादीहरुलाई समाप्त पार्न एक भएर लाग्न आह्वान गरेका थिए।

उनले इरानमाथि जातीय दंगा र आतंकलाई बढावा दिएको आरोप लगाए। अनि इजरेल र प्यालेस्टाइनबीच शान्ति कायम हुनसक्ने सम्भावना पनि औंल्याए।

नरम

राष्ट्रपति ट्रम्प आफ्ना पूर्ववर्ती बराक ओबामा भन्दा बढी इजरेलका समर्थक मानिन्छन्।

तस्वीर कपीराइट EPA

निरन्तर बस्ती विस्तार गर्ने इजरेलको निर्णयप्रति उनले नरम धारणा राख्दै आएका छन्।

सन् १९६७ मा वेस्ट ब्यांक र पूर्वी जेरुसलेम कब्जामा लिएयता बनाइएका १४० वटा बस्तीहरुमा झण्डै ६ लाख यहुदीहरुको बसोबास छ।

प्यालेस्टाइनले उक्त भूमि आफ्नो बताउने गरेको छ।

अन्तर्राष्ट्रिय कानून अनुसार उक्त बस्तीलाई गैरकानूनी मान्ने गरिएको छ तर इजरेलले त्यसलाई अस्वीकार गरिरहेको छ।

राष्ट्रपति ट्रम्पले तेल अबिबमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसलेममा सार्ने संकेत पनि दिएका छन् जसले प्यालेस्टीनीहरुलाई आक्रोशित तर इजरेलीहरुलाई प्रशन्न बनाउने देखिन्छ।