इरानी खतराबारे ट्रम्पको चेतावनी

  • 22 मे 2017
भेटघाट तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसंग परमाणु हतियार हुनुका जोखिमबारे चेतावनी दिएर आफ्नो इजरेल भ्रमण शुरु गरेका छन्।

जेरुसलेममा इजरेली समकक्षी रुभेन रिभ्लिनसँगै उभिएका ट्रम्पले पत्रकारलाई भने, "इरानसँग पारमाणविक अस्त्र कहिल्यै पनि हुनै दिनुहुँदैन।"

अमेरिकाको एउटा मुख्य साझेदार साउदी अरेबियाको भ्रमण पुरा गरी ट्रम्प इजरेल पुगेका हुन्।

त्यहाँ उनले इजरेली र प्यालेस्टिनी नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

"अन्तिम सम्झौता"

ट्रम्पले इजरेल-प्यालेस्टाइनबीचको शान्ति सम्झौतालाई "अन्तिम सम्झौता" भनेका छन्।

यद्यपि त्यसले कस्तो स्वरुप लिन्नुपर्छ भन्नेबारे उनले स्पष्ट पारेनन्।

ट्रम्पले सो विषयलाई दुबै पक्षले नै वार्तामार्फत टुंग्याउनुपर्नेमा जोड दिए।

इरानबारे थप उल्लेख गर्दै उनले इरानले "आतंकवादी समूह र विद्रोहीलाई रकम, तालिम तथा उपकरणहरु उपलब्ध गराउने काम बन्द गर्नुपर्ने" बताए।

अस्वीकार

तेहरानले पारमाणविक अस्त्र निर्माण गर्न नचाहेको बताउँदै आएपनि अमेरिका र इजरेलले उसलाई पत्याउन अस्वीकार गर्दै आएका छन्।

आफ्ना पूर्ववर्ती बराक ओबामाको तुलनामा ट्रम्प इजरेलका लागि बढी नै सहयोगी देखिन्छन्।

विस्तार भन्दा पनि उपस्थितिले शान्ति खोज्ने प्रयासलाई प्रभावित तुल्याउन सक्ने भन्दै विवादास्पद इजरेली आवास योजनाप्रति उनले नरम नीति अवलम्बन गरेका छन्।

सन् १९६७ मा वेस्ट ब्यांक र पूर्वी जेरुसलेममाथि इजरेलले नियन्त्रण जमाएयता १४० भन्दा बढी आवास क्षेत्रहरुमा ६ लाखभन्दा बढी यहुदीहरु बस्दै आएका छन्।

आफ्ना लागि छुट्टै मुलुकको माग गरिरहेको प्यालेस्टाइनले ती क्षेत्रमाथि दावी गर्दै आएको छ।