‘अवैध व्यापार निरुत्साहन गर्न’ वन्यजन्तुका अंग नष्ट

  • 22 मे 2017
मृत वन्यजन्तुका अंग
Image caption चितवनको कसरामा विशेष कार्यक्रममाझ ४ हजार थानभन्दा बढी मृत वन्यजन्तुका अंग खुलास्थानमा जलाइएको हो

वन्यजन्तुको चोरीशिकारी तथा तिनको अंगको अवैध व्यापारलाई निरुत्साहन गर्न भन्दै सरकारले करिब दुई दशकयता थुप्रिएर बसेका वन्यजन्तुका आखेटोपहार सोमबार जलाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा आयोजित विशेष कार्यक्रममाझ ४ हजार थानभन्दा बढी मृत वन्यजन्तुका अंग खुलास्थानमा जलाइएको हो।

अधिकारीहरुले वन्यजन्तुका अंगहरु निश्चित समयपछि कुहिएर वा मक्किएर जाने भएकाले तिनको संरक्षणमा राज्यलाई, उनीहरुकै शब्दमा, अनावश्यक आर्थिक भार समेत पर्दै आएको थियो।

'महत्वपूर्ण'

चितवन राष्ट्रिय निकुञ्जको कसरा परिसरमा ४ हजार १२ थान वन्यजन्तुका आखेटोपहार जलाइएका छन्।

जलाइएका आखेटोपहार अर्थात् मृत वन्यजन्तुका अंगहरुमध्ये दुर्लभ एक सिंगे गैडाको खाग, बाघ तथा चितुवाको छाला, कस्तुरीको बिना लगायतका ४८ प्रजातिका जंगली जनावरको अंग छन्।

यी अंग प्राकृतिक रुपमा मृत्यु भएका जंगली जनावरबाट संकलन गरिनुका साथै चोरीशिकारी वा अवैध व्यापारका क्रममा जफत गरिएका हुन्।

त्यसरी देशभरबाट संकलित आखेटोपहार चितवनको टिकौलीस्थित सशस्त्र वन रक्षक तालिम केन्द्रमा राखिन्छ भने कसरा भण्डारणस्थलमा चिवतन राष्ट्रिय निकुञ्जबाट संकलित अंगहरु राख्ने गरिन्छ।

यी सबै अंग जलाउनुको कारणबारे वन तथा भू-संरक्षण मन्त्रालयका सहसचिव महेश्वर ढकाल भन्छन्, "वन्यजन्तु जिउँदो हुँदामात्रै उनीहरुको अंगको महत्व हुन्छ, अन्यथा हुँदैन भन्ने सन्देश प्रवाह गर्नका लागि हामीसँग भण्डारणमा रहेका अंगहरु जलाएका हौं। यसले वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँछ।"

इतिहास

Image caption धेरै आखेटोपहार जलाइएपनि केही भने अध्ययन, अनुसन्धान तथा प्रदर्शनीका लागि राखिने अधिकारीहरुको भनाइ छ

२० वर्षअघि पनि यस्ता अंगहरु जलाइएको थियो।

त्यतिबेला झण्डै २६०० थान आखेटोपहार जलाइएको अधिकारीहरुले बताएका छन्।

यी अंग कुन आधारमा जलाइन्छन्?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, "पहिले हामीसँग कार्यविधि थिएन। हालै ऐनमा संशोधन गरेपछि वन्यजन्तुका काम नलाग्ने अंगहरु जलाउने व्यवस्था भएको छ र अब हामी दुई, दुई वर्षको अन्तरमा आखेटोपहार जलाउँछौं।"

अहिले धेरै आखेटोपहार जलाइएपनि केही भने अध्ययन, अनुसन्धान तथा प्रदर्शनीका लागि राखिने अधिकारीहरुको भनाइ छ।

हात्तीको ११ सय किलोग्राम दारा पनि नजलाइने बताइएको छ।

नष्ट गर्न उच्चतापक्रम र विशेष उपकरण चाहिने भएकाले यहाँ सम्भव नभएको जनाइएको छ।

तर्कहरु

पछिल्ला केही वर्षमा केन्या, श्रीलंका, अमेरिका, चीन लगायतका देशहरुमा पनि ठूलो परिमाणमा हात्तीका दाराजस्ता वन्यजन्तु अंगहरु जलाइएका विवरण प्रकाशमा आएका थिए।

यता नेपालमा सरकारी अधिकारीहरुले आखेटोपहार जलाउनुको पछाडि वन्यजन्तुको चोरी शिकारी र अवैध व्यापार निरुत्साहन गर्न भनेका छन्।

तर आलोचकहरु कडा निगरानी, कडा कानूनको व्यवस्था तथा स्थानीय जनताको संरक्षणमा गहिरो संलग्नता लगायतका पक्षलाई जोड दिन नसकेसम्म चोरी शिकारी नियन्त्रण गर्न नसकिने तर्क गर्छन्।