'कोही नेपाली परेको खबर छैन'

  • 23 मे 2017
तस्वीर कपीराइट GOODMAN/LNP/REX/SHUTTERSTOCK
Image caption म्यानचेस्टर हमलामा कैयौं घाइते भएका थिए

सोमबार राती ब्रिटेनको म्यानचेष्टर शहरमा गरिएको हमलामा कोही पनि नेपाली परेको खबर नआएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

सोमबार राती ब्रिटेनको म्यानचेष्टर एरिनामा गरिएको हमलामा कोही पनि नेपाली परेको खबर नआएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका प्रवक्ता शरदराज आरणले मंगलबार बिहान म्यानचेष्टरस्थित नेपाली संघसंस्थाहरुसंग सम्पर्क गर्दा त्यहाँ बसोबास गर्ने कोही पनि नेपाली सो घटनामा परेको कुनै खबर नआएको बताए।

उनले यस्ता घटनाहरुप्रति सजग र सुरक्षित रहन ब्रिटेनस्थित नेपाली समुदायलाई आग्रह पनि गरे।

जानकारी

म्यानचेष्टरस्थित नेपाली एसोसियसन इन द युके हिमालयन यतिका अध्यक्ष पुष्प श्रेष्ठले पनि सो हमलामा कोही नेपाली परेको आफुहरुलाई अहिलेसम्म कुनै जानकारी नआएको बीबीसी नेपाली सेवालाई बताए।

लण्डनबाट २६२ किलोमिटर टाढा पर्ने म्यानचेष्टर शहरमा नेपालीहरुको सानो समुदाय बसोबास गर्दछ।

ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

ग्रेट म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले दिएको जानकारी अनुसार उक्त घटना म्यानचेष्टरमा अहिलेसम्म भएको सबैभन्दा भयानक हो।

म्यानचेस्टरमा सुरक्षाका लागि ४०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।

हपकिन्सले उक्त घटनालाई आतंकवादी हमला मानेर छानबीन अघि बढाइएको बताए।

हमला

उनले एक जना व्यक्तिले सो हमला गराएको विश्वास प्रहरीको रहेको पनि बताए।

ब्रिटेनकी गृहमन्त्री एम्बर रडले उक्त बर्बरतापूर्ण आक्रमणमा जानाजानी युवाहरुलाई निशाना बनाइएको बताइन्।

म्यानचेष्टर एरिनामा चर्चित अमेरिकी गायिका आरियाना ग्रान्डेको प्रस्तुति सकिएपछि सो विस्फोट भएको थियो।

उक्त हमलापछि उनले आफ्नो साङ्गीतिक विश्व यात्रा स्थगित गरेकी छन् र घटनाप्रति दु:ख व्यक्त गरेकी छन्।