'क्रुर आतंकवादी हमलाको शिकार भएका छौँ'

  • 23 मे 2017
हमला तस्वीर कपीराइट PETER BYRNE

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले ब्रिटेन र म्यानचेष्टर शहर क्रुर आतंकवादी हमलाको शिकार भएकोमा अब कुनै सन्देह नरहेको बताएकी छिन्।

आपतकालीन सुरक्षा बैठकपछि बोल्दै प्रधानमन्त्री मेले म्यानचेष्टरमा भएको घटनाको पूर्ण तथ्य बाहिर ल्याउन प्रहरीसहितका सुरक्षा निकायले तीव्र गतिमा काम गरिरहेको बताइन्।

हमलाकारीको पहिचानबारे पहिल्यै थाहा भएको सुरक्षा निकायलाई विश्वास भएपनि तत्काल नाम सार्वजनिक गर्न नलागिएको उनले उल्लेख गरिन्।

म्यानचेष्टर हमलामा मारिनेको संख्या २२

हमलाकारीले एक्लैले त्यस्तो गरे वा नगरेको स्पष्ट हुन नसके पनि आक्रमण निकै कायरतापूर्ण भएको प्रधानमन्त्री मेले बताइन्।

जानाजान

आक्रमणकारीले जानाजान बढी नोक्सान पुर्याउने हिसाबले हमलाको समय र स्थान चयन गरेको मेको भनाई छ।

म्यानचेष्टर विस्फोटपछिका तस्वीरहरु

त्यस्ता मानिसले कहिल्यै जित्न नसक्ने उनले बताइन्।

म्यानचेष्टर शहरमा मंगलबार राति एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम विस्फोटमा २२ जनाको ज्यान गएको र करिब ६० जना घाइते भएको प्रहरीले बताएको छ।

उक्त आक्रमण सन् २००५ मा ५० जनाभन्दा बढीको ज्यान जाने गरी लण्डनमा गराइएको आक्रमणयताकै सबैभन्दा खराब हमला भएको अधिकारीहरुले बताएका छन्।