मध्यपूर्वमा शान्तिप्रति ट्रम्पको प्रतिबद्धता

  • 23 मे 2017
पोष्टर तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेली र प्यालेस्टिनीहरुलाई शान्ति प्राप्त गर्न मद्दत गर्न आफूले सबैथोक गर्ने बताएका छन्।

महमुद अब्बाससंगको कुराकानीमा ती प्यालेस्टिनी नेताले आतंकवाद विरुद्ध लड्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकोमा आफू अनुग्रहित भएको उनले बताएका छन्।

इजरेली र प्यालेस्टिनीहरु बीच तीन वर्षयता शान्ति वार्ता भएको छैन र ट्रम्पले त्यस्तो सहमति गराउनु एकदमै गाह्रो हुने स्वीकारेका छन्।

गाजा र वेस्ट ब्याङ्कमा रहेका प्यालेस्टिनीहरुले ट्रम्पको यो भ्रमणको विरोध गरेका छन्।

उनीहरुले इजरेलको जेलमा रहेका प्यालिस्टिनीहरुले गरिरहेको भोक हड्तालको समर्थनमा प्रदर्शन गरेका छन्।

आशावादी

सोमबार ट्रम्पले उनी अमेरिका र इजरेलबीचको तोडिन नसकिने सम्बन्ध फेरि सुधार्न त्यहाँ आएको बताएका थिए।

साथै उनले उक्त क्षेत्रमा सुरक्षा, स्थायित्व र शान्ति ल्याउने विरलै अवसर रहेको पनि बताएका थिए।

उनी साउदी अरेबीयाबाट सिधै तेल अभिभ उडेका थिए।

आइतबार भएको एक शिखर सम्मेलनमा उनले अरब र मुसलमान नेताहरुलाई इस्लामवादी अतिवादीहरु धपाउन मिलिजुली काम गर्न पनि आग्रह गरेका थिए।

मंगलबार ट्रम्पले बेथलेहेम पुगेर अब्बासलाई भेटेका थिए।

त्यहाँ आशाको भावनाका साथ पुगेको उनले बताएका थिए।

आश्वासन

साथै प्यालेस्टिनी प्रशासनका अध्यक्षले उनलाई सो लक्ष्य हासिल गर्न असल नियतका साथ काम गर्ने आश्वासन दिएको पनि ट्रम्पले जनाएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि त्यस्तै वाचा गरेको ट्रम्पले बताएका छन्।

उनले सोमबार साँझ म्यानचेष्टरमा भएको आत्मघाती बम हमलाको निन्दा गरेर आफ्नो सम्बोधन शुरु गरेका थिए।

मंगलबार नै उनी जेरुसलेम फर्केर त्यहाँ रहेको यहुदी आमहत्याको स्मारकको पनि भ्रमण गरेका थिए।