आतंकवाद जोखिमको तह उच्चविन्दुमा

  • 24 मे 2017
म्यानचेष्टर तस्वीर कपीराइट Reuters

ब्रिटेनमा आतंकवादबाट रहेको जोखिमको तहलाई सबैभन्दा उच्चविन्दुमा पुर्याइएको छ।

त्यसको अर्थ थप आतंकवादी आक्रमणहरु हुनसक्ने प्रधानमन्त्री टरिजा मेले बताएकी छन्।

प्रहरी, सरकारी विभाग र निकायका विज्ञहरुको समूह 'जोइन्ट टेरोरिज्म एनालिसिस सेन्टर'ले जोखिमको उच्चतहबारे निर्णय लिएको हो।

यसअघि जोखिमको तह दुईपटकमात्रै उच्चविन्दुमा पुर्याइएको थियो।

म्यानचेष्टर आक्रमणका संदिग्ध हमलाकारी सलमान अबेदीले एक्लै काम गरेको वा नगरेको भन्नेबारे अनुसन्धानकर्ताहरु निचोडमा पुग्न नसकेको प्रधानमन्त्रीले जनाइन्।

सैनिक परिचालन

महत्वपूर्ण क्षेत्रहरुको सुरक्षाका निम्ति अबदेखि सेना खटाइनेछ।

सोमबार साँझ एकजना आत्माघाती हमलाकारीले म्यानचेष्टर एरिनामा आक्रमण गर्दा २२ जनाको ज्यान गएको थियो भने अन्य ५९ जना घाइते भएका थिए।

अबका केही हप्तामा 'कन्सर्ट' जस्ता कार्यक्रममा पनि प्रहरीको मातहतमा सैनिक खटिनसक्ने प्रधानमन्त्री मेले बताइन्।

प्रधानमन्त्रीले सर्वसाधारणले 'अनावश्यक रुपमा त्रसित' महसुस नगरुन् भन्ने आफूले चाहेको तर त्यस्तो त्रास 'स्वाभाविक प्रतिक्रिया' भएको बताइन्।

सन्दिग्ध हमलाकारीको नाम सार्वजनिक

'कोही नेपाली परेको खबर छैन'

पहिचान

म्यानचेष्टर आक्रमणमा मारिएका केही व्यक्तिको पहिचान भएको छ।

आमासहित कन्सर्टमा पुगेकी एक आठ वर्षिया बालिका, एक १८ वर्षिया विद्यार्थी र २६ वर्षका अर्का एक पुरुषको पहिचान भएको बताइएको छ।

मारिएका वा हराइरहेका अन्य केही बालबालिका रहेको जनाइएको छ।

५९ जना घाइतेमध्ये पनि अधिकांशको अवस्था चिन्ताजनक रहेको विवरण छन्।

मृतकहरुको सम्झनामा म्यानचेष्टरमा एउटा र्याली गरिएको थियो र ब्रिटेनभर नै विभिन्न कार्यक्रमहरु गरिएका छन्।