किन मानव, चिम्पान्जी र मुसालाई काउकुतीबाट रमाइलो लाग्छ?

  • 24 मे 2017
काउकुती तस्वीर कपीराइट Oleksiy Maksymenko / Alamy Stock Photo

"काउकुती विज्ञानको एउटा निकै फराकिलो अनि गहिरो विषय हो।"

यसै भन्छन् युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइन। उनले आफ्नो विज्ञता बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा खर्चिएका छन्। तर तीमध्ये काउकुती किन अझ विशेष छ?

छोटकरीमा भन्दा, काउकुती भनेको निकै गम्भीर विषय हो। "यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरुबारेको होस वा चेतसँग पनि जोडिएको छ," प्रोभाइन भन्छन्।

अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरु पशुहरुले देखाउने व्यवहारले सघाउ पुर्याउँछ।

काउकुतीका प्रकार

खासगरी काउकुती दुई प्रकारका हुन्छन्। एउटालाई नीस्मेसिस भनिन्छ भने अर्कोलाई गार्गालेसिस भनिन्छ।

नीस्मेसिस चाहिँ शुरुवाती प्रतिक्रिया हो। छालामा हल्का स्पर्शले निम्त्याउने मन नपर्ने खालको अनुभूति हो। यो धेरैमा लागू हुन्छ। "माउसुली, किरा तथा लगभग समग्र जीवमा यस्तो अनुभूति हुन्छ जुन शरीरको छालाको एउटा रक्षात्मक प्रतिक्रियासँग जोडिन्छ," प्रोभाइनले भने। जीवजन्तुले आफ्नो शरीरलाई किराको टोकाइ वा अन्य परजीवीबाट जोगाउन यस्तो प्रतिक्रिया देखाउँछन्। जीउ कन्याउने वा कान छिटोछिटो हल्लाउने व्यवहार नीस्मेसिस हो।

गार्गालेसिस चाहिँ केवल स्तनधारी प्राणीमा मात्र पाइन्छ। यो अलि बेस्सरी गरिन्छ र यसले हाँसो निम्त्याउँछ। स्तनधारी प्राणीमाझ यो एक रमाइलो खेलका रुपमा पनि रहेको छ।

आधारभूत रुपमा काउकुतीको अनुभूति स्पर्श तथा पीडा थाहा पाउने स्नायुसँग जोडिन्छ। तर यो भन्दा थप अन्य विषय पनि छ। "काउकुतीका कारण उत्पन्न हुने हाँसो स्वचालित प्रतिक्रियाभन्दा पनि एक सामाजिक व्यवहार मान्नु उपयुक्त हुन्छ," छाला विशेषज्ञ स्यामुएल टि सेल्डनले सन् २००४ मा काउकुतीबारेको एक समीक्षामा लेखेका छन्। प्राणीको क्रमिक विकासका दौरान कुनै समय यो हाँसो उठाउने व्यवहारमा परिणत भयो।

"हाँसोका निम्ति काउकुती एक मौलिक उत्तेजक हो," प्रोभाइन भन्छन्। "खासमा काउकुती लगाएजस्तो गर्नु विश्वको एक सबभन्दा प्राचीन चुट्किला हो जस्तो मलाई लाग्छ। काउकुती, काउकुती भनेर काउकुती लगाउन खोज्ने कार्य एक यस्तो चुट्किला सरह हो जसले मानिस तथा चिम्पान्जी दुवैका बच्चा हाँस्छन्।"

यसबारे युकेकी युनिभर्सिटी अफ पोर्ट्समथकी मनोवैज्ञानिक मरिना डाभिला रस सहमत छिन्। उनले चिम्पान्जीका हाँसोबारे अनुसन्धान गरेकी छन्।

चिडियाखानाका सञ्चालकहरु तथा आमाहरुलाई उनले क्रमश: चिम्पान्जीका बच्चा तथा मानव शिशुलाई काउकुती लगाउँदै दुई प्राणीबीच रहेको हाँसोको अध्ययन गरेकी छन्।

"यसमा क्रमिक विकास सिद्धान्त अन्तर्गत रहेका सम्बन्धहरुबारे आनुवंशिक विशेषज्ञले आनुवंशिक आँकडा प्रयोग गरेजस्तै हामीले हाँसोका अकुस्टिक आँकडा प्रयोग गरेका छौं," उनले भनिन्।

हाँसोको विकास

तस्वीर कपीराइट Theo Webb

सन् २००९ मा प्रकाशित उनको शोधले बाँदर प्रजातिको एउटै मूल पूर्वज जातिमा पाइएका आवाजको विकास क्रमबाटै मानव जातिमा हाँसो विकसित भएको उल्लेख छ।

डाभिला रसको अध्ययनमा प्रयोग भएका गोरिल्ला वा बोनोबोको आवाज मानवसँग मिल्दोजुल्दो भएपनि अन्य बाँदर प्रजातिका प्राणीले निकाल्ने आवाज भने सिधै हाँसो नै भनेर चिन्न कठिन हुने खालको हुन्छ।

तर आवाजको गहन शोधले कसरी हल्का आवाज विस्तारै हाँसो र उन्मुक्त हाँसोमा क्रमिक विकास भयो भन्ने देखाएको छ।

उक्त शोधले हाँसोमात्रै होइन काउकुतीको इतिहासपनि केलाएको छ। "बाँदर प्रजातिका प्राणी अरुले खेलेको वा केही गरेको देखेर हाँस्दैनन्," डाभिला रसले भनिन्।

तिनलाई हाँसो उठ्न अन्यसँग सक्रियपूर्वक खेलेकै हुनुपर्छ। यसै खेल अन्तर्गत लडिबुडी र काउकुती पर्छन्। त्यस्ता खेलले थकाउँछ र स्याँस्याँ आउँछ। यही स्याँस्याँ विस्तारै हामीले अहिले भन्ने जस्तो हाँसोमा परिणत हुन पुग्यो।

"म त भन्छु हाँसोको हा हा भनेको खेल्दाखेरी निस्कने स्याँ स्याँकै स्वरुप हो। तपाईंले यदि चिम्पान्जीलाई काउकुती लगाउनु भयो भने उसको हाँसो लगभग स्याँ स्याँ जस्तो सुनिन्छ," प्रोभाइनले भने।

बाँदर प्रजातिका सामाजिक प्राणीका निम्ति काउकुती भनेको मित्रतालाई सुदृढ बनाउने एक विशेष उपाय हो। मानव जातिको हाँसो निकै विकसित र जटिल भएपनि यसको आधारविन्दु भने उही भएको प्रोभाइनले बताए।

अरु पशुपनि हाँस्छन्?

मानव र बाँदर प्रजाति एक करोडदेखि एक करोड साठी लाख वर्ष पहिले छुट्टिएर बेग्ला बेग्लै विकसित हुन थाले। त्यसैले काउकुती-हाँसोको इतिहास पनि करिब त्यति नै वा अझ धेरै पुरानो हुनुपर्छ।

कुकुरले रमाइलो मानेर खेल्ने र निकाल्ने आवाज अनि एसियाली हात्तीले निकाल्ने आवाजलाई पनि यही प्रक्रियासँग जोडेर कतिपयले हेर्छन्। "हात्तीले एक अर्कालाई काउकुती लगाएको जस्तो देखिन्छन्," प्रोभाइनले भने।

तर तिनको व्यवहार र मानवसँगको त्यसको ठ्याक्कै सम्बन्ध देखाउन कठिन छ। "फेरि हात्तीजस्ता ठूला प्राणीलाई काउकुती लगाएर अनुसन्धान गर्नु कठिन मात्र होइन अनुसन्धानकर्तालाई जोखिमपूर्ण पनि हुनसक्छ," उनले भने।

यस्तो जटिल प्रक्रियाबारे बुझ्न बरु साना प्राणी सजिला हुन्छन्।

अनि यस्ता अनुसन्धानमा मुसा जत्तिको सजिलो अरु के होला?

खासमा विज्ञानको नाममा मुसालाई काउकुती लगाउने कार्य दुई दशकदेखि जारी छ। यसको शुरुवात सन् २०१० मा प्रकाशित मनोविज्ञान तथा जीवशास्त्र विज्ञ जाक प्यांकसेप तथा उनका विद्यार्थी जेफ्रे बर्गडर्फको विवादास्पद शोधले गर्यो।

खेलिरहेका मुसाले मानिसले नसुन्ने फ्रिक्वेन्सीमा निकाल्ने तीव्र फ्रिक्वेन्सीका आवाज पत्ता लगाएसँगै प्यांकसेपले त्यो कतै मानिसहरुले खेल्दा निकाल्ने आवाजसँग सम्बन्धित छ कि भनेर अनुसन्धान गरे।

शुरुमा हाँस्ने मुसाबारे वैज्ञानिक समुदाय उत्साही थिएनन्। तर त्यसपछि मुसा प्रजातिमा काउकुतीबारे थुप्रै अध्ययन भए।

"ती अध्ययनले काउकुतीले मुसामा पनि मस्तिष्कको त्यही स्थानमा उत्तेजना ल्याउँछ जसले मानवजातिमा खुशी र रमाइलो उत्पन्न गराउँछ भन्ने देखाएका छन्," मुसामा काउकुतीको प्रतिक्रियाबारे अध्ययन गरिरहेकी युनिभर्सिटी अफ बर्न स्वीटजरल्याण्डकी लुसा मेलोट्टिले भनिन्।

मानव हुनुको महत्व

तस्वीर कपीराइट Panther Media GmbH / Alamy Stock Photo

हुन त पशु र मानव व्यवहारलाई सोझै जोड्न वैज्ञानिकहरु हिच्किचाउँछन् तर सर्वसाधारण भने यसमा निकै अगाडि छन्। इन्टरनेटमा पशुका रमाइला व्यवहारका भिडियो निकै लोकप्रिय छन्। तिनमा हुचिल देखि लिएर माछा जस्ता प्राणीलाई काउकुती लगाइएका भिडियो पनि छन्।

तर वैज्ञानिकहरुले त्यस्ता प्रतिक्रिया हाँसो वा रमाइलो नभइ पशुजन्य डरका कारण पनि उब्जिएको हुनसक्ने भनी सतर्क गराएका छन्।

वास्तवमा पशुको अनुभूति ठ्याक्कै थाहा पाउन मुश्किल छ।

हाँसो वा काउकुती जस्ता व्यवहार अध्ययन गर्ने कुरा अलि अनौठो लाग्न सक्छ। तर तिनका व्यवहारिक फाइदा छन्। मुसामा काउकुतीको अध्ययन गरेका बर्गडर्फले त्यसले दिएको परिणामलाई मनोवैज्ञानिक रोगको उपचारमा प्रयोग गरेका छन्। त्यसमाथि पशुहरुको खुशी अध्ययन गरे तिनलाई खुशी राख्न पनि सकिन्छ - खासगरी थुनेर राखिएका पशुहरुलाई।

यी कुराको बुझाइले मानव र पशुको सम्बन्ध जान्न मद्दत मिल्छ अनि मानव हुनुको महत्व के हो भन्ने पनि थप उजागर हुन्छ।