‘फास्ट ट्र्याक’को शिलान्यास आफैले गर्छु'

  • 24 मे 2017
घोषणा

१० महिने कार्यकाल अन्त्य गर्दै बुधबार राजीनामा दिएका प्रधानमन्त्री प्रचण्डले आफैले काठमाण्डूलाई तराईसँग जोड्ने 'फास्ट ट्र्याक' अर्थात द्रुतमार्गको शिलान्यास गर्ने बताएका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको 'फास्ट ट्र्याक' निकै लामो समयदेखि चर्चामा रहेपनि त्यसको निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन।

निर्वाचन आयोगका एक अधिकारीले "राष्ट्रिय आवश्यकता"का काम अघि बढाउन निर्वाचन आचारसंहिता वाधक नबन्ने बीबीसीलाई प्रतिक्रिया दिएका छन्।

१० महिनाअघि नेपाली कांग्रेस र तराई केन्द्रित दलहरुको समर्थनमा सत्ता सम्हालेका प्रधानमन्त्री प्रचण्डले 'भद्र सहमति' अनुसारै आफूले राजीनामा दिन लागेको घोषणा गर्नुअघि आफ्नो सरकारले गरेका काम कारवाहीको लामै फेहरिस्त सुनाएका थिए।

सुनिश्चित

त्यसक्रममा उनले देशमा लोडशेडिङ घटाएको श्रेय त लिए नै; काठमाण्डू तराई 'फास्ट ट्र्याक' को प्रसंग उल्लेख गर्न छुटाएनन् र सो आयोजनाको शिलान्यास आफैंले गर्ने बताए।

"राजधानी र तराई जोड्ने फास्ट ट्र्याक अब सुनिश्चित भएको छ, केही दिनमै म त्यसको शिलान्यास गर्दैछु। त्यो सेनाले बनाउँदैछ।"

प्रधानमन्त्रीका एक सल्लाहकारका अनुसार आउने जेठ १४ गते आइतबार बाराको निजगढमा एक समारोहबीच प्रचण्डले 'फास्ट ट्र्याक' सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ।

७६ किलोमिटर लामो हुने सो चौडा सडक निर्माणको जिम्मेवारी सरकारले हालै मात्रै नेपाली सेनालाई सुम्पेको थियो।

राजीनामा घोषणा गर्नुअघि प्रचण्डले आफ्नै कार्यकालमा १२ सय मेगावाटको बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माणको जिम्मेवारी एक चिनियाँ कम्पनीलाई दिइएको बताए।

देशको समग्र अर्थतन्त्र सुधारिएको दावी गर्दै उनले देशको निकै न्यून आर्थिक वृद्धिदर पनि अहिले ह्वात्तै बढेर छिमेकी भारत र चीनकै हाराहारीमा पुगेको बताए।

संकल्प

सम्बोधनमा प्रचण्डले आफ्नो विपक्षीका आशंका विपरीत अहिले छिमेकी देशहरुसँगको सम्बन्ध पनि निकै सुदृढ भएको दावी गरे।

भद्र सहमति अनुसार राजीनामा दिन लागेको बताउँदै गर्दा उनले आफूले इमानदारी प्रदर्शन गर्न लागेको बताए।

"नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको छु। नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दै छु," उनले भने।

आफ्नो सम्बोधनको अन्त्यमा उनले राजीनामापछि पनि एक राजनीतिज्ञ, सांसद् र नागरिकका रुपमा देश र जनताको सेवामा लागिरहने बताए।

प्रचण्डले राजीनामा दिएको केही दिनपछि नै बजेट प्रस्तुत हुने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने तयारी रहेको जानकारी केही दिनअघि देउवा निकट एक नेताले बीबीसीलाई दिएका थिए।