म्यानचेष्टर विस्फोट: सूचना चुहिएकोमा ब्रिटेन आक्रोशित

  • 25 मे 2017
बम तस्वीर कपीराइट NEW YORK TIMES

ब्रिटेनको प्रहरीले अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले म्यानचेष्टरमा भएको बम हमला स्थलका तस्वीर र सूचना प्रकाशन गरेकोमा भर्त्सना गरेको छ।

ब्रिटिश अधिकारीहरुले उक्त सूचना चुहाइनुले प्रहरीको अनुसन्धानलाई असर पारेको र आफ्नो देशसँगको अमेरिकी गुप्तचर निकायको साझेदारीमा विश्वासको संकट उत्पन्न भएको बताएका छन्।

उक्त तस्वीरमा रगतको टाटा बसेका बमका टुक्रा, ब्याट्री, काँटीहरु र विस्फोट गराउन प्रयोग गरिने एउटा सम्भावित उपकरण देखिन्छ।

द न्यूयोर्क टाइम्सले प्राप्त तस्वीरहरुले सो बम तुलनात्मक रुपमा आधुनिक भएको संकेत गरेको टिप्पणी गरेको छ।

आक्रोश

त्यसलगत्तै ती तस्वीरहरु ब्रिटेनका सञ्चारमाध्यमहरुले पनि प्रकाशन गरेका थिए।

Image caption आत्माघाती हमलाकारी सलमान अबेदी पनि विस्फोटमा मारिएको बताइएको छ

ब्रिटेनका प्रतिआतंकवाद प्रहरी अधिकारीहरुले उक्त चुहावटले अनुसन्धानलाई अवमूल्यन गर्दै पीडित र प्रत्यक्षदर्शीको भरोसा कमजोर बनाउनसक्ने टिप्पणी गरेका छन्।

ह्वाइट हलस्थित सुरक्षा स्रोतले बीबीसीलाई भनेका छन्, "हामी एकदमै आक्रोशित छौँ, कुनै पनि अवस्थामा यस्तो काम स्वीकार्य हुँदैन।"

ग्रेटर म्यानचेष्टरका मेयर एण्डी बर्नहामले सूचना चुहाइएको बारे अमेरिकी राजदूतसमक्ष कुरा उठाएको जानकारी दिए।

आक्रमणकारी "एक्लै थिएनन्"

त्यसअघि ब्रिटिश गृहमन्त्री एम्बर रडले बम हमलाकारी सलमान अबेदीबारेको सूचना अमेरिकाले बाहिर ल्याइदिएकोमा आफू आक्रोशित भएको बताएकी थिइन्।

उनले आफूले वासिङटनलाई अब यस्तो नहोस भनेर बताएको पनि जानकारी दिइन्।

ब्रिटिश अधिकारीहरुले आफ्ना सम्बन्धित अमेरिकी समकक्षीहरुसँग सबै तहमा यो विषय उठाइरहेको ह्वाइट हलस्थित स्रोतले जनाएका छन्।

बिहीबार नेटो सम्मेलनका क्रममा हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले उक्त सूचना चुहावटको विषय पनि उठाउने अपेक्षा गरिएको छ।

पक्राउ

Image caption इस्माइल अबेदीलाई म्यानचेष्टरको दक्षिणबाट र हमलाकारीका पिता रमादानलाई ट्रिपोलीबाट पक्राउ गरिएको हो

यसैबीच आत्माघाती बम हमलाकारी सलमान अबेदीका पिता र भाइलाई लिबियामा हिरासतमा लिइएको छ।

कम्तीमा २२ जनाको ज्यान लिने गरी भएको विस्फोटनपछि उनका जेठा दाईलाई म्यानचेष्टरमा गिरफ्तार गरिएको थियो।

आतंकवाद जोखिमको तह उच्चविन्दुमा

ट्रिपोलीमा अबेदीका आफन्तको गिरफ्तारी बाहेक अन्य सात जनालाई ब्रिटेनमा पक्राउ गरिएको छ।

प्रहरीले एउटा साङगीतिक कार्यक्रममा सोमबार राति भएको विस्फोटमा एउटा सञ्जाल नै संलग्न भएको हुनसक्ने प्रहरीले ठानेको छ।

विस्फोटन गराइएको बम हमलाकारी आफैँले नबनाएको विश्वास सुरक्षा निकायले गरिरहेका छन् र सम्भावित बम निर्माण कारखाना पत्ता लगाउने प्रयास भइरहेको उनीहरुले जनाएका छन्।