शान्ति सेनाको बजेट काट्ने प्रस्तावको आलोचना

  • 25 मे 2017
शान्तीसेना तस्वीर कपीराइट Getty Images

संयुक्त राष्ट्रसंघले शान्ति सेना कायम राख्न अमेरिकाले उपलब्ध गराउँदै आएको बजेट कटौती गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाले शान्ति स्थापनाको कार्य अंसभव बनाउने चेतावनी दिएको छ।

मंगलबार अमेरिकी प्रशासनले सार्वजनिक गरेको बजेट योजनामा राष्ट्र संघीय कामकारबाहीमा दिने गरिएको सहयोगमा उल्लेख्य कटौती गर्न लागिएको संकेत गरिएको छ।

संयुक्त राष्ट्रसंघले शान्ति सेनामा गर्ने झण्डै ७ दशमलब ९ अर्ब डलर मध्ये एक चौथाइ भन्दा बढी रकम अमेरिकाले उपलब्ध गराउँदै आएको थियो।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका एक जना प्रवक्ताले शान्ति सैनिकका कामलाई कसरी कम खर्चिलो बनाउने भन्नेबारे छलफल गर्न संगठन इच्छुक रहेको बताए।

खर्च

राष्ट्रपति ट्रम्पको नयाँ बजेट प्रस्तावमा अमेरिकाले राष्ट्रसंघका निम्ति गर्ने खर्चको 'उपयुक्त हिस्सा'बारे विचार गरिने घोषणा गरिएको छ।

उक्त दस्तावेजमा शीर्षक सहित विस्तृत आर्थिक विवरण उपलब्ध गराइएको छैन तर रोयर्टस समाचार संस्थाले बजेट कटौतीको कूल रकम एक अर्ब डलरभन्दा माथि हुनसक्ने जनाएको छ।

तस्वीर कपीराइट Getty Images

राष्ट्रसंघका प्रवक्ताले राष्ट्रपति ट्रम्पको योजनाबारे अध्ययन भइरहेको प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, "अहिले प्रस्तुत गरिएको रकमको आँकडाले संयुक्त राष्ट्रसंघलाई शान्ति, विकास, मानवअधिकार प्रवर्द्धन गर्ने र मानवीय सहायता उपलब्ध गराउने आफ्ना सबै कामहरु गर्न असम्भव नै बनाउनेछ।"

बीबीसी संवाददाता निक ब्रयान्ट भन्छन् राष्ट्रसंघ जस्तो संस्थाबाट यस्तो कडा किसिमको टिप्पणी आउनुलाई अस्वाभाविक मान्ने गरिन्छ।

अमेरिकी राष्ट्रपतिले बजेट निर्माण गर्दैनन् तर उनले संसदलाई बजेटका लागि सिफारिसहरु गर्ने गर्छन्।

प्रयास

राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति मिसनहरुको महत्वबारे अमेरिकी संसदका सदस्यहरुसँग 'लबिङ' गरिरहेको बुझिएको छ।

अमेरिकाले राष्ट्रसंघको शान्ति स्थापना सम्बन्धी खर्चको २८ दशमलब ५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ।

उक्त रकम दोस्रो बढी योगदान गर्ने चीन भन्दा तीन गुणा बढी हो।

राष्ट्रपति ट्रम्पको योजनामा विस्तृत विवरण उल्लेख गरिएको छैन् तर अमेरिकाले आफ्नो योगदान बढीमा २५ प्रतिशतसम्म सीमित गर्न चाहेको बुझिएको छ।

हाल सिरिया, दक्षिण सुडान, भारत र पाकिस्तानको सीमा सहितमा गरेर कूल १६ वटा शान्ति स्थापना मिसनहरु सक्रिय छन्।