'नयाँ बमोजिम जेठमा चुनाव गर्न सकिन्न'

  • 25 मे 2017
निर्वाचन
Image caption निर्वाचन आयोगले नयाँ थपिएका संरचना सहित जेठ ३१ गते निर्वाचन गराउन नसक्ने बताएको छ

निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानीय तहहरु सहित तोकिएकै मितिमा निर्वाचन गर्न नसकिने जनाएको छ।

आयोगले यस अघिकै स्थानीय तह अनुसार निर्वाचनको वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

आयोगले एक विज्ञप्ति जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाउन नसकिने जनाएको छ।

त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्न सक्ने अवस्था समेत नरहेको आयोगले जनाएको छ।

नयाँ संरचना

मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नयाँ संरचनाको विवरण हाल सम्म नपाएको आयोगको भनाइ छ।

दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले २ महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो।