ट्रम्पद्वारा गोप्य सूचना चुहाउने कामको भर्त्सना

  • 25 मे 2017
गोप्य भनिएका तस्वीर तस्वीर कपीराइट New York Times
Image caption न्यू योर्क टाइम्स पत्रिकाले म्याचेष्टर हमलापछिका तस्वीरहरु प्रकाशन गर्ने आफ्नो निर्णयको बचाउ गरेको छ

राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारी निकायले म्यान्चेष्टर बम हमलापछिका गोप्य तस्वीर लगायतका विवरण चुहाएको भन्ने आरोपमाथि पूर्ण छानबिन हुनु पर्ने र दोषीविरुद्ध मुद्दा चलाइनुपर्ने बताएका छन्।

उनले त्यसरी गोप्य सूचना चुहाउने सिलसिला "लामो समयअघि देखि चलिरहेको" र त्यो अमेरिकी "राष्ट्रिय सुरक्षाको निम्ति ठूलो खतरा" भएको बताए।

सोमबार म्यान्चेष्टर एरिनामा अरियाना ग्रान्डेको कार्यक्रमपछि सलमान अबेदीले आत्मघाती बम आक्रमण गर्दा २२ जनाको ज्यान गएको थियो र ११६ जना घाइते भएका थिए।

त्यस अघि लण्डनस्थित एक उच्च अमेरिकी कूटनीतिज्ञले म्यान्चेष्टर बम आक्रमणको अनुसन्धानमा प्रयोग गरिएका सामग्री अमेरिकी सञ्चार माध्यममा चुहाउनु भर्त्सनायोग्य कार्य भएको बताएका थिए।

लण्डनमा खटिएका अमेरिकी कार्यवाहक राजदूत लेविस लुकेन्सले बीबीसीसँग कुरा गर्दै म्यान्चेष्टर हमलापछिका गोप्य तस्वीर सञ्चारमाध्यमलाई चुहाउन को जिम्मेवार छ त्यसको छानबिन हुने बताए।

ब्रिटेनको प्रहरीले अमेरिकासँग गोप्य सूचना तथा विवरण आदानप्रदान नगर्ने चेतावनी दिएलगत्तै अमेरिकी प्रतिक्रिया आएको हो।

क्रुद्ध

अमेरिकाको न्यूयोर्क टाइम्स पत्रिकाले म्यान्चेष्टर बम आक्रमण लगत्तै खिंचिएका गोप्य तस्वीर र सो हमलामा संलग्न व्यक्तिको नाम सार्वजनिक गरिदिएपछि ब्रिटिश प्रहरी तथा अधिकारीहरु क्रुद्ध भएका हुन्।

त्यस अघि ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले अमेरिकासँग आदानप्रदान गरिएका गोप्य सूचना सुरक्षित रहनुपर्ने विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग स्पष्ट कुराकानी गर्ने बताएकी थिइन्।

गोप्य सूचना अमेरिकी गुप्तचर निकायबाट चुहिएको पाइएपछि ग्रेटर मन्चेस्टर प्रहरी क्रुद्ध बनेको बताइएको छ।

सो निकायका एक उच्च अधिकारीले गोप्य सूचना त्यसरी चुहाइदिंदा अनुसन्धान प्रभावित हुने र घटनापछि आहत बनेका परिवारजन झनै दुखी हुने बताए।

तर न्यूयोर्क टाइम्स पत्रिकाले चाहिँ म्यान्चेष्टर हमलापछिका तस्वीरहरु प्रकाशन गर्ने आफ्नो निर्णयको बचाउ गर्दै ती "पीडितलाई आघात पुराउने खालको नभएको" बताएको छ।