सहमतीय सरकार नबन्ने पक्का

  • 25 मे 2017
राष्ट्रपति विद्या देवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएको भोलिपल्ट, सात दिन भित्र सहमतिका आधारमा सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन्।

आलोपालो सरकारको नेतृत्व गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमति अनुसार भन्दै प्रधानमन्त्री प्रचण्डले पदत्याग गरे पछि व्यवस्थापिका संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको सरकार बन्ने संभावना न्यून रहेको बताएका छन्।

सहमतिको सरकार बन्न नसकेमा संसदमा मतदान मार्फत बहुमतीय सरकार बनाउने प्रकृया थालिने छ।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बहुमत

आलोपालो सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रसंग भद्र सहमतिमा रहेको व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रसले सहमतीय सरकार बनाउन प्राप्त सात दिनको समयपछि संसदमा हुने मतदानको आधारमा बहुमतको नयाँ सरकार बनाउन तयार रहेको बताएको छ।

नेपाली काँग्रसका नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले भने, "संविधान संशोधन विधेयक जस्ता महत्वपूर्ण विषयमा नेकपा एमाले सहमत छैन। तर माओवादी केन्द्र लगायत सरकारमा भएका दलहरुको समर्थन हामीलाई अहिले छ, त्यसैले हामीसंग बहुमत छ।''

नेपाली काँग्रेसले बोकेको राजनीतिक कार्यसूचीमा नेकपा एमालेले साथ नदिएकोले एमालेसंग मिलेर सहमतिको सरकार बन्न सक्ने संभावन नभएको नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री निधिले बताए।

सरकारले स्थानीय तहको संख्या बढाएको विरोधमा संसदको बैठक अवरोध गर्दै आएको प्रतिपक्षी दल नेकपा एमालेले पनि संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिले गरेको आह्वान अनुसार सहमतिको सरकार बन्ने सम्भावना देखेको छैन।

आरोप

नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली भने, "उसले नेकपा एमालेलाई जुनसुकै हिसाबले बाहिर राख्ने नीति बनाउँदै आएको छ। त्यही कारण सहमतिको सरकार बन्ने संभावन मैले देखेको छैन।''

संविधान घोषणा भएपछि बन्ने भनिएको संयुक्त सरकार नेपाली काँग्रेसको कारण त्यति बेला बन्न नसकेको ज्ञवालीले बताए।

संविधानप्रति असन्तुष्ट तराई केन्द्रीत दलहरुको चित्त बुझाउन भनी स्थानीय तहको संख्या बढाउने निर्णयको पक्षधर सत्ताधारी पार्टी नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा बहुमतीय सरकार निर्माण गर्न राष्ट्रिय जनता पार्टी नेपालको पनि समर्थन लिने प्रयास गर्ने बताएको छ।

नेकपा माओवादी केन्द्रसंग भएको भद्र सहमति अनुसार सो पार्टी र सरकारमा रहेका दलबाहेक अन्य दलहरुको पनि सहमति जुटाउने प्रयास नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेसका नेता तथा राक्षामन्त्री बालकृष्ण खाँडले बताए।

आग्रह

रक्षामन्त्री खाँडले भने, "मधेश केन्द्रित दल लगायत राष्ट्रिय जनता पार्टी नेपाल , संघीय समाजवादी फोरम र अन्य दलहरुलाई पनि हाम्रो आग्रह रहन्छ।''

त्यस्तै सरकार छाड्नु अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नयाँ बन्ने सरकारमा काँग्रेसलाई सहयोग गर्ने बताएको रक्षामन्त्री खाँडले बताए।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचन पछि बनेका कुनै पनि सरकार दलहरुबीचको सहमतिमा बनेका छैनन्।