ट्रम्पका ज्वाईं अनुसन्धानको घेरामा

  • 26 मे 2017
ट्रम्प तथा कुश्नर तस्वीर कपीराइट Reuters

अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन्।

संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग उनीहरुले थालेको छानविनका निम्ति महत्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको एनबीसीन्यूजलाई अधिकारीहरुले बताएका छन्।

तयार

एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ।

नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरुको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन्। साथै, कुश्नरविरुद्ध कुनै कानुनी अभियोग लगाउने योजना नभएको उनीहरुले बताए।

कुश्नरले गत वर्ष रुसी राजदूत सेर्गेइ किस्ल्याक तथा एक रुसी ब्यांकर सेर्गेइ गोर्कोभसंग भेटेको बताइएको छ।

कुश्नरका वकिलका अनुसार उनले यसअघि नै आफुसंग ती भेटघाट बारे रहेका जानकारी कंग्रेस समक्ष बाँड्न तयार रहेको बताइसकेका छन्।

तस्वीर कपीराइट AFP
Image caption कुश्नर ट्रम्पकी छोरी अभान्काका पति हुन्।

साथै, त्यस्ता जानकारी अन्य जुनसुकै छानविनकर्ताहरुले मागे पनि दिन कुश्नर तयारै रहेको उनले बताए।

ट्रम्पले आफ्नो अभियान र रुसबीच कुनै पनि सांठगांठ नभएको बताउँदै आएका छन्।

सो छानविनलाई उनले अमेरिकी इतिहासमै कुनै राजनीतिज्ञविरुद्ध नियतवश छेडिएको सबभन्दा ठूलो अभियान भनेका छन्।