विमान खरिद गर्न ऋण सम्झौता अन्तिम चरणमा

  • 26 मे 2017
विमान

दुई ठूला हवाइजहाज खरिद गर्नका निम्ति आउँदो हप्ताको प्रारम्भमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसंग ऋण सम्झौता गर्न लागेको नेपाल वायुसेवा निगमका महाप्रबन्धकले बताएका छन्।

सरकारको जमानीमा ऋण दिन सहमत भएका यी दुवै निकायसँग वायुसेवा निगमले २५ अर्ब रुपियाँ ऋण लिन लागेको बताइएको छ।

तर प्रस्तावित सम्झौताका केही प्रावधानमा रहेका अस्पष्टताका कारण यस सम्बन्धी सम्झौतापत्रमा भने हस्ताक्षर भइसकेको छैन।

आगामी हप्ताको मध्यसम्ममा सम्झौतामा हस्ताक्षर हुनसक्ने नेपाल वायुसेवा निगमका अधिकारीहरु बताउँछन्।

ऋण

सरकार जमानी बसेपछि सरकारी स्वामित्वमा रहेका दुई संस्थाहरु कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले विमान खरिद गर्न नेपाल वायुसेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण सहयोग गर्न तयार भएका थिए।

तर जहाज खरिद गर्ने बेला गरिएका कतिपय सम्झौताहरु अस्पष्ट भएको भन्दै दुवै निकायले नेपाल वायुसेवा निगमलाई पत्राचार गरेपछि गत हप्ता हुने भनिएको उक्त ऋण सम्झौता अहिलेसम्म हुन सकेको छैन।

अहिले निगमले सोधिएका सबै विषयहरुमा प्रष्ट पारिसकेकाले अब सम्झौता हुने तय भएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बीबीसीलाई बताए।

उनले भने, "सम्झौताको कागजहरु मागिएको थियो। त्यो सबै पठाइसकेका छौं। अब उहाँहरुको सञ्चालक समितिको बैठक बाँकी छ। आइतबार या सोमबार सम्ममा सम्झौता हुन्छ।"

सञ्चय कोष र लगानी कोष दुवैले विमान खरिद गर्न पहिलो किस्ताका लागि आवश्यक २५ अर्ब रुपैयाँको आधा आधा रकम ऋण उपलब्ध गराउने सहमति भएको बताइएको छ।

निगमका अनुसार ऋण सम्झौता भए लगत्तै यी दुवै संस्थाले प्रारम्भमा चार चार अर्ब रुपैयाँ निगमलाई उपलब्ध गराउनेछन्।

ऋण सम्झौतामा ढिलाइ हुँदा वायुसेवा निगमले निर्धारित समयमा हवाइजहाज खरिद गर्न अमेरिकी कम्पनीलाई बैना रकम पठाउने काममा समेत असर परेको बताइन्छ।

नेपाल वायुसेवा निगमले गत वर्ष माघ महिनामा ३०० सिरिजको दुईवटा 'वाइड वडी' जहाज किन्न खरिद सम्झौता गरेको थियो।